**२६ कार्तिक २०८३** **पोखरा** । पोखराको सहरी स्वरूप बदल्ने र आकाशमा जेलिएर रहेका विद्युतीय तारको जञ्जाल हटाउने उद्देश्यसहित अघि बढाइएको विद्युत् तार भूमिगत गर्ने काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। चार वर्षअघि सुरु भएको यस आयोजनाले पोखराको सहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुका साथै विद्युत् वितरण प्रणालीलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत पोखराको काम आगामी वैशाखभित्र र भरतपुरको काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार भरतपुरमा अधिकांश काम सम्पन्न भइसकेको छ भने पोखरामा पनि मुख्य सहरी क्षेत्र र पर्यटकीय आवागमन बढी हुने सडकलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ। एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन भइरहेको आयोजनाको निर्माण ठेक्का सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले प्राप्त गरेको थियो। **पोखरामा २२३ किलोमिटर तार भूमिगत गरिँदै** पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकोमा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत सुरु भइसकेको छ। आयोजनाले पहिलो चरणमा मुख्य राजमार्ग, व्यापारिक केन्द्र र पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेको छ। पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक हुँदै सेतीपुलसम्म पृथ्वी राजमार्ग आसपासका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ। त्यसैगरी सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा तार बिछ्याउने काम सम्पन्न भएको छ। लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको छ। अब ती क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाह गर्ने काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। हाल सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गासम्म तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ। **सेतीपुल निर्माणसँगै विद्युत् प्रवाह सहज हुने** सेतीपुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको भूमिगत तारबाट तत्काल विद्युत् प्रवाह गर्न नसकिएको आयोजना प्रमुख सुवेदीले बताएका छन्। पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले त्यससँगै बाँकी क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन गर्न सहज हुने उनको भनाइ छ। आयोजनाले पोखराका मुख्य राजमार्गसँगै सहायक सडकमा समेत तार भूमिगत गर्ने कामलाई निरन्तरता दिएको छ। विद्युतीय तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि आवश्यक अप्टिकल फाइबरसमेत भूमिगत गरिएको छ। भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युतीय पोल र तार हटाउन थालिएको आयोजना कार्यालयले जनाएको छ। पोखरामा मात्रै करिब छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। **भरतपुरमा ९५ प्रतिशत काम सम्पन्न** पोखराको तुलनामा भरतपुरमा भूमिगत तार बिछ्याउने काम अझ तीव्र गतिमा अघि बढेको छ। भरतपुरमा कुल १५६.३३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने लक्ष्य रहेकोमा हालसम्म १५५.३७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ। त्यसमध्ये १३७.८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाहसमेत भइसकेको आयोजना प्रमुख सुवेदीले जानकारी दिएका छन्। भरतपुरका एक हजार दुई सय घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याउने लक्ष्य रहेको छ। **सहरको सौन्दर्यसँगै सुरक्षित विद्युत् प्रणालीको अपेक्षा** सडकका दायाँबायाँ ठडिएका विद्युतीय पोल र अव्यवस्थित तारले कुरूप देखिने सहरी दृश्यलाई भूमिगत प्रणालीले व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विशेषगरी पोखराजस्तो पर्यटकीय सहरमा सडक, चोक र सार्वजनिक स्थानको सौन्दर्य अभिवृद्धि गर्न यो आयोजना महत्त्वपूर्ण मानिएको छ। खुला अवस्थामा रहेका जीर्ण तथा अव्यवस्थित विद्युतीय तार हटाउँदा हावाहुरी, वर्षा, आगलागी तथा अन्य प्राविधिक दुर्घटनाको जोखिमसमेत न्यूनीकरण हुने विश्वास गरिएको छ। त्यस्तै, विद्युत् वितरणमा हुने अवरोध कम भई सेवा थप भरपर्दो बन्ने अपेक्षा छ। आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पोखराको आकाशमा देखिने तारको जञ्जाल क्रमशः हट्नेछ। यसले सहरलाई आधुनिक र व्यवस्थित स्वरूप दिनुका साथै पर्यटकीय आकर्षण बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।