आजदेखि छठ पर्व सुरु, मिथिलाका गाउँबस्ती र बजार छठमय
👤 सनस्टार संवाददाता |

२०८३ कात्तिक २७
**पोखरा ।** दीपावलीको रौनक सेलाउन नपाउँदै मिथिलाको आँगनमा छठ पर्वको उल्लास छाएको छ। आस्था, निष्ठा र पवित्रताको अनुपम सङ्गम मानिने चारदिने छठ पर्व आज (शुक्रबार) देखि विधिवत् सुरु भएको छ। छठको आगमनसँगै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका गाउँबस्ती, बजार र घरआँगनमा छुट्टै चहलपहल देखिन थालेको छ।
सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको आराधना गरिने यस पर्वले मिथिलाको जनजीवनलाई भक्तिमय बनाएको छ। घरघरमा छठका परम्परागत गीत गुञ्जिन थालेका छन् भने गाउँका चौतारीदेखि बजारसम्म पर्वकै चर्चा हुन थालेको छ। छठका गीतमा सूर्यदेवको महिमा, छठीमाताको वन्दना र परिवारको सुख, शान्ति तथा समृद्धिको कामना अभिव्यक्त हुन थालेपछि मिथिलाको वातावरण नै छठमय बनेको छ।
पर्वलाई स्वागत गर्न स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण, सरसफाइ र सजावटमा जुटेका छन्। विशेषगरी युवाहरू घाट व्यवस्थापन, सरसफाइ र आकर्षक सजावटमा सक्रिय देखिएका छन्। कतै बाँसका भाटा र झिक्राबाट छठघाट तयार पारिँदै छ भने कतै रङरोगन र झिलिमिली बत्तीले जलाशयका किनार सजाउने काम भइरहेको छ। घरका भित्तामा लिपपोत गर्ने, आँगन सफा गर्ने र पूजास्थललाई चिटिक्क पार्ने कामले पनि तीव्रता पाएको छ।
छठको तयारीसँगै मिथिलावासीको दैनिकीसमेत पर्वमय बनेको छ। भेटघाट, पारिवारिक जमघट, किनमेल र घरायसी कामकाज सबै छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३, बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो।
**बजारमा पूजासामग्रीको चहलपहल**
छठ नजिकिएसँगै मिथिला क्षेत्रका बजारमा पूजासामग्री किन्नेको भीड बढेको छ। केराका घरीदेखि उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर तथा जटा भएका विभिन्न फलफूल र कृषि उपजको माग बढ्न थालेको छ। छठ पूजामा प्रयोग हुने यस्ता सामग्री स्थानीय किसानले बजारमा बिक्रीका लागि ल्याउने तयारी गरिरहेका छन्।
जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार छठका लागि आवश्यक कृषि उपज तथा पूजासामग्रीको मुख्य कारोबार शनिबार हुने अपेक्षा गरिएको छ।
त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ। माटोबाट बनाइने दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायतका भाँडाकुँडाको मागसमेत उच्च बनेको छ। छठमा नयाँ तथा शुद्ध भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँस र माटोका सामग्रीको व्यापारले विशेष महत्त्व पाएको हो।
यस पर्वले स्थानीय उत्पादन, हस्तकला र परम्परागत व्यवसायलाई समेत चलायमान बनाउने गरेको छ। किसानदेखि बाँसका सामग्री बनाउने कारीगर र माटाका भाँडा तयार पार्ने कुमाल समुदायसम्मका लागि छठ आर्थिक गतिविधि बढाउने अवसरसमेत बनेको छ।
**ठकुवा र भुसुवाको सुगन्धले घरआँगन मगमगाउँदै**
छठको अर्को विशेष आकर्षण हो, घरमै तयार गरिने परम्परागत प्रसाद। मिथिलाका घरघरमा ठकुवा, भुसुवा तथा अन्य परिकार बनाउने चटारो सुरु भएको छ। विशेषगरी महिलाहरू चामल र गहुँको पिठो तयार पार्न व्यस्त छन्। कतिपय घरमा आधुनिक प्रविधिभन्दा परम्परागत ढिकी र जाँतोबाटै अन्न कुट्ने तथा पिँध्ने चलन अझै जीवित छ।
शुद्धता, पवित्रता र निष्ठालाई सर्वोपरि मानिने छठमा प्रसाद तयार पार्न विशेष सावधानी अपनाइन्छ। परिवारका सदस्यहरू मिलेर सरसफाइदेखि परिकार निर्माणसम्मका काममा सहभागी हुने गर्छन्। यसले पर्वलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी पारिवारिक एकता र सामूहिक सहभागिताको उत्सवसमेत बनाएको छ।
भङ्गाहा–४, रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा सबैभन्दा महत्त्वपूर्ण पक्ष निष्ठा र पवित्रता भएको बताउनुभयो। उहाँका अनुसार छठमा सामग्रीको तडकभडकभन्दा मनको श्रद्धा र विधिपूर्वक गरिने पूजा नै ठूलो कुरा हो।
**नहाय–खायबाट सुरु, उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न**
मिथिला क्षेत्रमा छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट छठ सुरु हुन्छ। यस दिन व्रतालुले स्नान गरी शुद्ध भोजन ग्रहण गरेर पर्वको सङ्कल्प गर्छन्।
दोस्रो दिन ‘खरना’ मनाइन्छ। यस दिन दिनभरि निराहार व्रत बसेर साँझ विधिपूर्वक पूजा गरी खीरलगायतका प्रसाद ग्रहण गरिन्छ। तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुले अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशयका घाटमा उभिएर अर्घ्य अर्पण गर्छन्। चौथो दिन सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ।
**सामाजिक सद्भाव र समानताको अनुपम पर्व**
छठ केवल धार्मिक आस्था र उपासनाको पर्व मात्र होइन, सामाजिक एकता, सद्भाव र समानताको सन्देश बोकेको सांस्कृतिक उत्सव पनि हो। यस पर्वमा पुराना मनमुटाव बिर्सेर सबै समुदायका मानिस एउटै ठाउँमा भेला हुन्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबैले सँगसँगै सूर्यदेवको आराधना गर्ने परम्पराले सामाजिक सद्भावको सुन्दर उदाहरण प्रस्तुत गर्छ।
धनी–गरिब, सानो–ठूलो सबैले आफ्नो क्षमता र श्रद्धाअनुसार पर्व मनाउने भएकाले छठले समानता र सामूहिकताको भावना बलियो बनाउँदै आएको छ। घाट निर्माणदेखि सरसफाइ, सजावट र पूजा व्यवस्थापनसम्ममा सामूहिक सहभागिता रहने यस पर्वले आपसी सहयोग र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउँछ।
प्रकृतिका प्रत्यक्ष देवता मानिने सूर्यको उपासना र षष्ठीदेवीप्रतिको श्रद्धासँग जोडिएको छठले प्रकृति, परिवार, समाज र मानव जीवनबीचको सम्बन्धलाई समेत उजागर गर्छ। यही आस्था, अनुशासन, पवित्रता र सामाजिक एकताको सन्देशका कारण छठ पर्व मिथिलाको पहिचान मात्र नभई समग्र नेपाली समाजकै साझा सांस्कृतिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ।