कास्कीको रुपा गाउँपालिका वडा नं २, साविक थुम्की गाविसको वडा ६ देखि ९ सम्म समेटिएको वडा, विकासको दौडमा सधै पछाडी परेको छ । गाउँपालिकाको केन्द्र भाग र पोखरा नजिकै भएर पनि आधारभूत पूर्वाधार, बाटो, स्वास्थ्य र खानेपानीमा रुपा २ का बासिन्दाले अझै परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । २०७८ को जनगणना अनुसार १२९५ जनसंख्या र १०.०१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो वडा गाउँपालिकाकै सबैभन्दा कम जनसंख्या भएको वडा हो । जनसंख्या कम भएकै कारण बजेट बिनियोजनदेखि योजना छनोटसम्म आफूहरू पछाडी परेको स्थानीयको गुनासो छ ।पालिका अस्पताल देखि वडामा रहेका अस्पताल हरुमा समेत आबस्यक उपचार हुन नसक्ने तथा औषधिसमेतको अभाव रहेकाले सामान्य उपचारको लागि पोखरा आउनु पर्ने बाध्यता छ । जस्ले गर्दा निम्न बर्गलाइ ठूलो समस्या परेको स्थानिय बताउछन । बाटो छ, तर हिउँदमा मात्र वडालाई जोड्ने मुख्य सडक अझै कालोपत्रे हुन सकेको छैन । हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने सडकका कारण विद्यार्थी र बिरामीले सबैभन्दा धेरै सास्ती भोग्नु परेको छ । रामबजार देखि शिव चन्डी बाटो गाई बस्तु हिड्न समेत नसक्ने गरि बिग्रेको छ । युवा पलायन र खानेपानीको समस्या रोजगारीको अवसर नहुँदा अधिकांश युवा विदेशिएका छन् । गाउँमा भएका धारामा वर्षायाम बाहेक पानी सुक्ने गरेको छ । लिफ्ट खानेपानी योजनाले केही राहत भएपनि धेरै बिग्रने कारण बेला बेलामा समस्या परेको उपभोक्ताले गुनासो गरेका छन । तर स्थानीयलाई आश्वासन मात्र होइन, कार्यान्वयन चाहिएको छ । गाउँपालिकाका ७ वटै वडा मध्ये सबैभन्दा कम बजेट पाउने र सबैभन्दा कम योजना सम्पन्न हुने वडाको रूपमा रुपा-२ चिनिन थालेपछि स्थानीयमा निराशा बढेको छ । गाउपालिका र वडा अध्यक्ष को समझदारीमा कमि आउनाले नै रुपा २ पछाडी परेको स्थानियको बुझाइ छ । रुपा-२ लाई अब 'पछाडी परेको वडा' बाट 'नमुना वडा' बनाउने हो भने सडक, स्वास्थ्य र खानेपानीमा पालिकाले विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ । उत्पादनमा जोडिन नसक्ने हो भने अब बिकासको हवला दिनुको खासै कुनै अर्थ नहुने रुपा २ का स्थानियको गुनासो छ ।