गण्डक सहकारीको सातौँ साधारणसभा सम्पन्न, विभिन्न विधामा १२ जना सम्मानित आर्थिक अनुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवा प्रवाहमा जोड १५ कार्तिक २०८३ , पोखरा । गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक अध्यक्ष ध्रुवराज पौडेल प्रमुख अतिथि तथा निवर्तमान अध्यक्ष दिपेन्द्रराज ढकाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साधारणसभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, भावी योजना तथा संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव हरिशंकर भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कोषाध्यक्ष मातृका सुवेदीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फबाट मधु पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, शिक्षा उपसमिति सदस्य प्रकाश अधिकारीले सहकारीका सात सिद्धान्तबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। विभिन्न विधामा १२ जना सम्मानित साधारणसभाको अवसरमा संस्थाले शैक्षिक उपलब्धि, बचत तथा कर्जा कारोबार र ज्येष्ठ नागरिक सम्मानअन्तर्गत १२ जनालाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा एसईईतर्फ सामुदायिक विद्यालयबाट छात्रा स्मृति कुँवर र छात्र अनिष ढुङ्गाना तथा निजी विद्यालयबाट छात्र सुलभ पनेरू र छात्रा परिषा अर्याल रहेका छन्। त्यस्तै, कक्षा १२ तर्फ छात्रा सझनी लामिछाने र छात्र प्रदीप पौडेल सम्मानित भएका छन्। नियमित बचततर्फ शोभा ढुङ्गाना, अन्य बचततर्फ मुक्तिराम बराल, धितो कर्जातर्फ रीता पनेरू र विनाधितो कर्जातर्फ सावित्री आले सम्मानित भएका छन्। ज्येष्ठ नागरिक सम्मानबाट लिलाराज ढकाल र पार्वती काफ्ले सम्मानित भएका छन्। सहकारीको मेरुदण्ड शेयर सदस्य हुन् : अध्यक्ष पौडेल सभाको समापन गर्दै अध्यक्ष दिपेन्द्र पौडेलले सहकारी संस्थाको वास्तविक मेरुदण्ड शेयर सदस्यहरू भएको बताउँदै संस्थालाई बलियो, व्यवस्थित र दिगो बनाउन सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले कर्जा लिएका सदस्यहरूलाई निर्धारित समयमा नियमित किस्ता भुक्तानी गर्न आग्रह गर्दै प्रभावकारी ऋण असुलीले संस्थाको आर्थिक अवस्था सुदृढ बनाउने र अन्य सदस्यलाई आवश्यकताअनुसार कर्जा प्रवाह गर्न सहज हुने बताउनुभयो। सदस्यहरूले नियमित बचत गर्ने, संस्थाका गतिविधि तथा नीतिबारे जानकारी राख्ने, साधारणसभामा सक्रिय सहभागिता जनाउने र संस्थाका नियमहरूको पालना गर्ने संस्कार विकास गर्नुपर्ने उहाँको भनाइ थियो। सहकारी सञ्चालक समिति र कर्मचारीको मात्र नभई सम्पूर्ण शेयर सदस्यको साझा सम्पत्ति भएकाले यसको संरक्षण, विकास र पारदर्शिता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो। संस्थागत विकासका लागि सहकार्यमा जोड कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य डिल्लीराम पनेरू, निवर्तमान अध्यक्ष दिपेन्द्रराज ढकाल तथा संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि ध्रुवराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको संस्थागत विकास, आर्थिक अनुशासन, पारदर्शिता र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष पौडेलले साधारणसभा सफल बनाउन सहयोग गर्ने अतिथि, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी तथा सम्पूर्ण शेयर सदस्यप्रति आभार व्यक्त गर्नुभयो। साधारणसभाले नियमित बचत, प्रभावकारी कर्जा असुली, आर्थिक अनुशासन, सदस्यहरूको हित संरक्षण र संस्थाको दिगो विकासलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप सबल र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।