घोप्टेभीरमा सुक्खा पहिरो हटाउन १९ घन्टा लाग्यो पृथ्वी राजमार्गमा लामो जाम, तिहारका यात्रुलाई सास्ती
👤 सनस्टार संवाददाता |

घोप्टेभीरमा सुक्खा पहिरो हटाउन १९ घन्टा लाग्यो
पृथ्वी राजमार्गमा लामो जाम, तिहारका यात्रुलाई सास्ती
मुग्लिन ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा हिजो राति ९ बजे सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधनको लामो जाम लागेको छ ।
१९ घण्टा पछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि सवारीको अत्यधिक चापका कारण मंगलबार दिउँसोदेखि नै राजमार्गमा लामो जाम कायमै छ ।
पहिरो हटेपछि आवागमन खुले पनि राजमार्गका साँघुरा सडक र पुल तथा सवारीसाधनको उच्च चापका कारण जाम खुलाउन समय लागेको हो, जसका कारण घोप्टेभीरको दुवैतर्फ किलोमिटरसम्म सवारीसाधनहरूको लाम लागेको छ ।
यमपञ्चक अर्थात् तिहार पर्व सुरु भइसकेकाले काठमाडौंतर्फ जाने र काठमाडौंबाट आफ्नो घर फर्किने यात्रुहरूको संख्या उच्च छ । चाडपर्व मनाउन हिँडेका हजारौँ सर्वसाधारण घण्टौँसम्म राजमार्गमै जाममा फसेर सास्ती भोग्न बाध्य भएका छन् ।
सवारीको चाप अत्यधिक भएकाले जाम खुलाएर आवागमनलाई पूर्ण रूपमा नियमित बनाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । प्रहरीले धैर्यतापूर्वक आफ्नो लेनमा बसेर सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न चालकहरूलाई अनुरोध गरेको छ ।