लेकसाइडको गौरीघाटमा मौलिक देउसी–भैलो घन्कियो: पुन समाज पोखरा बन्यो च्याम्पियन पोखरा। पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित गौरीघाटमा आयोजित ‘मौलिक देउसी–भैलो प्रतियोगिता’को उपाधि पुन समाज पोखराले जित्न सफल भएको छ। नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसरमा आयोजित प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै पुन समाज पोखरा च्याम्पियन बनेको हो। पोखरा पर्यटन परिषद् र पोखरा महानगरपालिका पर्यटन शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा स्थानीय कला, संस्कृति र परम्परा झल्किने मौलिक देउसी-भैलो प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो। मौलिक संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड नेपाली मौलिक संस्कृति, भेषभूषा र परम्परागत बाजागाजाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पोखरा पर्यटन परिषद्‌का अध्यक्ष हरि भुजेलले बताए । पर्यटकीय क्षेत्र लेकसाइडको गौरीघाटमा आयोजित देउसी–भैलो हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो। अध्यक्ष भुजेलका अनुसार मौलिक संस्कृति लोप हुँदै गइरहेको वर्तमान अवस्थामा यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो परम्पराप्रति सजग गराउनुका साथै पर्यटकीय नगरी पोखराको रौनकता अझ बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बिश्वास बेक्त गरे । विजयी समूहहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।