१०औँ राष्ट्रिय खेलकुदको महाकुम्भ : सुर्खेतमा २३ खेल, लुम्बिनीमा पनि प्रतिस्पर्धा कर्णालीका पाँच जिल्लामा प्रतियोगिता, नेपालगञ्ज र बर्दियामा पनि खेल सञ्चालन हुने कर्णाली । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुने भएका छन्। पूर्वाधार र भौगोलिक कठिनाइका कारण प्रतियोगिताका केही खेल कर्णालीका अन्य जिल्ला र छिमेकी लुम्बिनी प्रदेशमा समेत आयोजना गरिने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते हुने तय भएको छ। औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सुरु हुनेछन्। मुख्य आयोजक जिल्ला सुर्खेतमा एथ्लेटिक्स, फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङलगायतका मैदानी खेल सञ्चालन हुनेछन्। त्यसैगरी कराँते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, उसु, बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्रोका खेल पनि सुर्खेतमै आयोजना हुनेछन्। कर्णालीका अन्य जिल्लामा पनि खेल विभाजन गरिएको छ। दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछन्। कर्णालीमा आवश्यक खेल पूर्वाधारको अभावका कारण पौडी र सुटिङ नेपालगञ्ज तथा टेनिस र खो–खो बर्दियामा आयोजना गरिने भएको छ। यसरी १०औँ राष्ट्रिय खेलकुदका ३२ खेलमध्ये २३ खेल सुर्खेत, पाँच खेल कर्णालीका अन्य चार जिल्ला र चार खेल लुम्बिनी प्रदेशका बाँके तथा बर्दियामा सञ्चालन हुनेछन्।