२०८३ असोज २६ गते , काठमाडौं नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेकपा (एमाले) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन पुनर्गठन, जनसम्बन्ध सुधार र युवा नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने रणनीति अघि सारेको छ । बदलिँदो राजनीतिक परिवेश र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीले विगतका कमजोरी सच्याउने तथा स्थानीय तहमा आफ्नो उपस्थिति सुदृढ बनाउने योजना बनाएको हो । एमालेले दसैँ, तिहार र छठजस्ता चाडपर्वपछि सांगठनिक गतिविधिलाई तीव्रता दिने तयारी गरेको छ । वडा तथा पालिका अधिवेशनमार्फत पार्टी कमिटीलाई चलायमान बनाउने, युवालाई नेतृत्वमा जोड्ने र स्थानीय निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिने उसको योजना छ । पार्टीले संगठनभित्रको एकता मजबुत बनाउँदै जनतासँगको सम्बन्धलाई पुनः विश्वासिलो बनाउने विषयलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीले आन्तरिक एकता कायम गर्दै जनतासँग बिग्रिएको सम्बन्ध सुधारमा जोड दिनेछ । स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका गतिविधि गाउँटोलसम्म विस्तार गर्ने र संगठनलाई जनतासँग प्रत्यक्ष जोड्ने तयारी भइरहेको उनले बताएका छन् । पार्टी सचिव महेश बस्नेतका अनुसार बदलिँदो जनमत र युवाको राजनीतिक मनोविज्ञानलाई सम्बोधन गर्न संगठनलाई थप चलायमान र युवामैत्री बनाउने नीति लिइएको छ । पार्टीभित्र देखिने गुटगत गतिविधि अन्त्य गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई साझा चुनावी अभियानमा परिचालन गर्ने एमालेको योजना छ । **अधिवेशनबाट नयाँ नेतृत्व, नयाँ नेतृत्वकाे सिफारिसका आधारमा उम्मेदवार** एमालेले वडा र पालिका अधिवेशनलाई नेतृत्व विकास तथा संगठन पुनर्गठनको आधार बनाउने भएको छ । अधिवेशनबाट चयन हुने नेतृत्वको सुझाव र सिफारिसका आधारमा स्थानीय तहका उम्मेदवार छनोट गर्ने पार्टीको तयारी छ । यसबाट स्थानीय आवश्यकता, जनअपेक्षा र संगठनको अवस्थालाई उम्मेदवार छनोट प्रक्रियासँग जोड्ने एमालेको लक्ष्य देखिन्छ । पार्टी सचिव भानुभक्त ढकालका अनुसार वडा तथा पालिका अधिवेशनपछि स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सहभागी गराएर प्रदेशस्तरीय भेला आयोजना गरिनेछ । भेलामार्फत स्थानीय निर्वाचनको तयारी, संगठन परिचालन र चुनावी रणनीतिबारे छलफल गरिने पार्टीले जनाएको छ । युवा पुस्तालाई पार्टी कमिटीमा सहभागी गराउने विषयलाई एमालेले संगठन सुदृढीकरणको महत्त्वपूर्ण हिस्साका रूपमा अघि सारेको छ । नयाँ अनुहारलाई जिम्मेवारी दिने र स्थानीयस्तरमा काम गरेका कार्यकर्तालाई नेतृत्वमा स्थापित गर्ने प्रयासले आगामी निर्वाचनको तयारीलाई समेत प्रभाव पार्ने पार्टीको अपेक्षा छ । **नेतृत्व यथावत्, संगठन पुनर्निर्माणमा जोड** पार्टीभित्र सांगठनिक संरचनालाई व्यवस्थित बनाउने क्रममा एमालेले स्थायी कमिटी गठन, केन्द्रीय कमिटीमा मनोनयन तथा वरिष्ठ नेताहरू विद्या भण्डारी र ईश्वर पोखरेललाई पार्टी संरचनामा समेट्ने काम गरेको जनाएको छ । पार्टी निर्माण र चुनावी अभियानमा सबै तहका नेताहरूलाई एकीकृत रूपमा परिचालन गर्ने उसको योजना छ । प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेतृत्व परिवर्तनको बहससमेत उठेको भए पनि एमालेले तत्काल संगठन पुनर्निर्माण र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेको छ । पार्टीले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा चुनावी अभियान अघि बढाउने नीति लिएको जनाएको छ । **जनताको असन्तुष्टि सम्बोधन गर्ने चुनौती** स्थानीय निर्वाचनलाई लक्षित गर्दै एमालेले विगतका कमजोरीप्रति आत्मालोचना गर्ने, बदलिएको राजनीतिक परिस्थितिबारे जनतासँग संवाद गर्ने र जनसम्बन्ध सुधार्ने योजना अघि सारेको छ । निर्वाचनमा प्राप्त परिणामको समीक्षा गर्दै जनताको अपेक्षा, स्थानीय समस्या र विकासका सवाललाई पार्टीका गतिविधिसँग जोड्ने उसको तयारी छ । यद्यपि, युवा नेतृत्वलाई अवसर दिने घोषणा मात्रै पर्याप्त हुने छैन । नेतृत्व चयनमा युवाको वास्तविक सहभागिता, उम्मेदवार छनोटमा पारदर्शिता, आन्तरिक एकताको व्यवहारिक कार्यान्वयन र स्थानीय जनताका समस्याप्रति पार्टीको जवाफदेहिताले एमालेको नयाँ रणनीति कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्नेछ । स्थानीय तह निर्वाचनलाई संगठन पुनर्गठन र जनविश्वास पुनःस्थापनाको अवसरका रूपमा लिएको एमालेका लागि अब चुनौती घोषणालाई व्यवहारमा उतार्नु हो । वडा र पालिका तहबाट सुरु हुने नेतृत्व छनोट तथा जनसम्बन्ध सुधारका प्रयासले आगामी चुनावी तयारीलाई कस्तो दिशा दिन्छ भन्ने चासो राजनीतिक वृत्तमा रहनेछ ।