तिहारको चौथो दिन आज गाईपूजा : श्रद्धा, आस्था र कृतज्ञताको पर्व
👤 सनस्टार संवाददाता |

**२३ कार्तिक २०८३**
**पोखरा**। नेपालीहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहारको चौथो दिन आज परम्पराअनुसार गाईपूजा गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई गौमाताका रूपमा श्रद्धा र भक्तिपूर्वक पूजा गरी मीठा परिकार खुवाएर यो दिन मनाउने गर्छन्।
तिहार केवल फूलमाला, बत्ती र उत्सवको पर्व मात्र होइन, प्रकृति, पशुपन्छी र जीवजन्तुप्रति सम्मान तथा कृतज्ञता प्रकट गर्ने विशिष्ट सांस्कृतिक अवसर पनि हो। यसै परम्पराको एउटा महत्त्वपूर्ण पक्षका रूपमा गाईपूजालाई लिइन्छ।
वैदिक सनातन हिन्दू धर्ममा गाईलाई पवित्र र पूजनीय जनावरका रूपमा मानिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक, सांस्कृतिक तथा परम्परागत महत्त्व रहेको छ। आमाको दूधजस्तै पोषिलो दूध प्रदान गर्ने भएकाले गाईलाई मातृत्व, ममता र पोषणको प्रतीकका रूपमा समेत सम्मान गरिन्छ।
गाईपूजाका दिन बिहानै गाईलाई स्नान गराई निधारमा टीका, गलामा माला र शरीरमा रङ लगाएर पूजा गर्ने चलन छ। त्यसपछि अक्षता, फूल, धूप, दीप तथा विभिन्न मीठा परिकार चढाएर गाईप्रति श्रद्धा प्रकट गरिन्छ। धार्मिक विश्वासअनुसार विधिपूर्वक गाईको पूजा गरी भोजन गराउँदा पुण्य प्राप्त हुने मान्यता छ।
शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भसँग जोडेर गाईपूजा गर्ने परम्परा रहेको छ। यद्यपि नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने प्रचलन पनि छ।
हिंन्दू धार्मिक संस्कारमा गाईदानलाई समेत विशेष महत्त्व दिइन्छ। धार्मिक कार्य तथा पितृकर्मका अवसरमा गाईदान गर्ने परम्परा रहँदै आएको छ। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।
गाईसँग जोडिएको अर्को रोचक धार्मिक विश्वास वैतरणी नदीसँग सम्बन्धित छ। जनविश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउने धार्मिक मान्यता रहिआएको छ।
नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाई नेपाली समाजको धार्मिक आस्था, कृषि संस्कृति र परम्परागत जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। त्यसैले गाईपूजा एउटा धार्मिक विधिमा मात्र सीमित नभई मानव जीवनमा पशुधनको योगदान सम्झने र प्रकृतिप्रति सम्मान व्यक्त गर्ने अवसर पनि हो।
तिहारको यस पावन अवसरले मानिस र प्रकृतिबीचको सम्बन्ध, जीवजन्तुप्रतिको माया तथा संरक्षणको भावनालाई थप बलियो बनाउने सन्देश दिएको छ।