नेपालमा बर्सेनि ८० हजार मानिस जलनको चपेटामा, उपचार गर्ने विशेषज्ञ चिकित्सकको चरम अभाव काठमाडौँ । नेपालमा बर्सेनि करिब ८० हजार मानिस जलनको चपेटामा पर्ने गरे पनि यसको उपचारमा खटिने विशेषज्ञ चिकित्सकको निकै अभाव रहेको पाइएको छ । देशैभर जलन उपचारको मुख्य नेतृत्व गर्ने प्लास्टिक सर्जनहरूको सङ्ख्या नेपाल मेडिकल काउन्सिलमा ३० जनाको हाराहारीमा दर्ता भएका छन् । तीमध्ये पनि सबै यस क्षेत्रमा सक्रिय छैनन् । कुल जलनका बिरामीमध्ये ६ देखि ७ हजार जना गम्भीर प्रकृतिका हुन्छन्, जसलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । सीमित चिकित्सक र बढ्दो बिरामीको यो ठुलो खाडलले नेपालको जलन उपचार प्रणालीमा तत्काल नीतिगत हस्तक्षेप र जनशक्ति बिस्तारको खाँचो देखाएको जलन विशेषज्ञ बताउँछन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपाल सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले भने, ‘नेपाल सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल ३ को जलन उपचार सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।’ तालिमबाट प्राप्त ज्ञान र सिपलाई सम्बन्धित अस्पतालमा प्रयोग गरी जलन उपचार वार्ड स्थापना तथा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको डा. अधिकारीले बताए । उनले देशभर जलन सम्बन्धी विज्ञको अभाव भएकाले पनि तालिमले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि हुने जिकिर गरे । विशेषज्ञ जनशक्ति अभाव भएपछि देशभर जलन उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सात वटै प्रदेशका प्रादेशिक अस्पतालहरूमा ‘लेभल थ्री’ को विशेष जलन उपचार केन्द्र स्थापना गर्ने अभियान चलाएको छ । यसअन्तर्गत आवश्यक जलन सम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अगाडि बढाइएको छ । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले नयाँ प्लास्टिक सर्जन उत्पादन गर्न लामो समय लाग्ने हुनाले जनरल सर्जरी गरेका डाक्टरहरूलाई एक महिनाको विशेष तालिम दिएर २० प्रतिशतसम्मको जलन भएका बिरामीहरूको उपचारमा खटाउने परिकल्पना गरिएको बताए । उनले भने, ‘नेपालमा जलनको समस्या निकै व्यापक छ । बिरामीको तुलनामा अस्पतालहरूको संख्या अति न्यून छ र सामान्य जलनका बिरामीसमेत काठमाडौँ नै धाउनुपर्ने बाध्यता छ ।’ उनले प्रादेशिक अस्पतालहरूमा यो सेवा विस्तार भएमा बिरामीले आफ्नै क्षेत्रमा सहज उपचार पाउन सक्ने बताए । कीर्तिपुर अस्पतालले दुई वर्ष अगाडिदेखि नै जनरल वा प्लास्टिक सर्जरी गरेका चिकित्सकहरूका लागि एक वर्षको ‘बर्न फेलोसिप’ कोर्स नेपाल मेडिकल काउन्सिलको मान्यतामा सञ्चालन गर्दै आएको छ । नकर्मीले भने, ‘नेपाल सरकारले बाहिरका जनशक्तिलाई पनि यो तालिममा पठाएमा उनीहरूको कार्यक्षमता अझ उच्चस्तरको बन्न सक्छ । यसका लागि आवश्यक बजेट व्यवस्थापन, उपयुक्त कार्य वातावरण र प्रोत्साहनको खाँचो हुन्छ ।’ कीर्तिपुर अस्पतालमा सन् २०१४ मा सुरुमा ९० जना बिरामी उपचार गरी सेवा सुरु गरिएकोमा गत वर्ष करिब ९०० जना बिरामी भर्ना भएका छन्, जुन दश गुणाले बढेको छ । अस्पतालमा बिरामीहरूको बसाइ लामो हुने हुनाले दैनिक रूपमा वार्डमा ३० जनाभन्दा बढी बिरामीहरू भर्ना भएर बसेका हुन्छन् भने ओपीडीमा दैनिक ३० देखि ३५ जनासम्म नयाँ तथा पुरानो बिरामी आउने गर्छन् । नकर्मीले भने, ‘सर्जिकल उपकरणहरूको कुनै कमी नरहेको तर अत्याधुनिक प्रविधियुक्त ड्रेसिङ मेटरियल र कृत्रिम छालाजस्ता अति महँगा सामग्री सहज रूपमा उपलब्ध हुन नसकेको अवस्था छ । सरकारले यी पक्षहरूमा विशेष ध्यान दिन सकेमा देशका सबै प्रदेशमा जलनको उपचार भरपर्दो र सुलभ बन्नेछ ।’ प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न नेपाल सरकारको क्युरेटिभ सर्भिस डिभिजनले स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार यो निर्णय गरेको हो । यस किसिमको उपचारलाई प्रभावकारी बनाउन एक जना जलनको तालिम प्राप्त सर्जन, ओटी (अप्रेसन थिएटर) नर्स, र आईसीयू नर्ससहितको जनशक्ति आवश्यक पर्छ । यसै उद्देश्यका साथ एक महिनाको ‘एडभान्स्ड बर्न केयर ट्रेनिङ’ कोर्स तयार गरी पहिलो चरणमा सुर्खेत र वीरगन्जका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई तालिम प्रदान गरी सम्पन्न गरिएको छ । स्वास्थ्यकर्मीको टोलीमा एक जना जनरल सर्जनको नेतृत्वमा आईसीयू नर्स, ओटी नर्स र वार्डका स्वास्थ्यकर्मी गरी कुल चार जना सदस्य रहने व्यवस्था गरिएको छ । यी चारै जनाको टोलीलाई संयुक्त रूपमा ३० कार्यदिनको सघन तालिम प्रदान गरिन्छ । यो तालिममार्फत स्वास्थ्यकर्मीहरुलाई २० प्रतिशतसम्मको जलन भएको बिरामीको प्रादेशिक अस्पतालमै सम्पूर्ण उपचार गर्न सक्ने क्षमता विकास गराइन्छ । यसमा अप्रेसन गर्ने, आईसीयू तथा वार्डको इमर्जेन्सी म्यानेजमेन्ट गर्नेलगायतका सैद्धान्तिक र व्यावहारिक दुवै किसिमका सिप अप्रेसन थिएटर, आईसीयू र वार्डमा नै लगेर सिकाइन्छ । यस किसिमको तालिम आगामी दिनमा अन्य अस्पतालका स्वास्थ्यकर्मीहरूलाई पनि दिने योजना छ ।