​देश जलाएर घण्टी बजाइएको दिन आशा मरेछ निराशा उदाएछ! पोखरा , कार्तिक २१ ​“परिवर्तन चाहियो, देश बिग्रियो, अब हामी आउँछौं” भन्दै ठूला-ठूला सपना बाँडेका ती दिनहरू अझै मेटिएका छैनन्, जुन दिन आक्रोशको ज्वालामा देश जल्दा जनताले आफ्नै भविष्य आगो तापमा देखेका थिए। अनि सोचे— पुराना दलहरूले ३५ वर्षसम्म देशको सिन्कोसम्म भाचेनन्, अब त नयाँलाई अवसर दिनैपर्छ। अनि बल्ल सबै हुन्छ भन्दै विश्वासको भारी बोकाएर जनताले उनीहरूलाई संसदमा पुर्‍याए। तर, जब ती ‘नयाँ’ भनिएका अनुहारहरूले सत्ताको न्यानो कुर्सी भेटे, तब उनीहरूको रंग फेरियो सपना मर्यो युवाको भविस्य उड्यो । त्यसैको परिणाम ​आज चिया पसलका कुनादेखि सामाजिक सञ्जालका भित्तासम्म यही एउटा गह्रौं प्रश्नले बाक्लो ठाउँ ओगटेको छ। जसले हिजो “भ्रष्टाचारको अन्त्य गर्छौं, सुशासन ल्याउँछौं र पुरानालाई तह लगाउँछौं” भनेर ढ्याङ्ग्रो ठोकेका थिए, आज उनीहरू नै पुरानो भन्दा झन बेइमानी र खराब भेटिए। ​चुनावताका गरिएका वाचा र आजको यो नाङ्गो यथार्थबीचको खाडल कतिसम्म विडम्बनापूर्ण छ, त्यसको एउटा पीडादायी फेहरिस्त यस्तो छ: "संख्या पुगेन हजुर, हामीलाई दुई तिहाइ दिनुहोस्, चमत्कार गर्छौं" भन्दै भोट मागे अनि जनताले इतिहासकै ठूलो १८२ सिटको ऐतिहासिक विश्वास दिए। तर, आज खोइ १८२ को चमत्कार । सरकार बनाएको १०० दिनमा विदेशका गल्ली-गल्लीका भित्ता भित्तामा स्वदेश फर्कनका लागि स्टिकर टास्छौं।" भनियो तर विडम्बना, स्टिकर टाँसिएन, उल्टै नेपालका गल्ली-गल्लीमा राहदानी र भिसाका विज्ञापन टाँस्नेहरूको लाइन झन् लामो भयो। बिदेसिएका युवाहरूलाई फर्काउने सपना देखाउनेहरूले नै देशमा बस्नै मननपर्ने वातावरणलाई मलजल गरे। "आकाश होस् या पाताल, जिबी राईलाई खोजी ल्याउँछौं!" चुनावका बेलाको यो गर्जन आज कहाँ हरायो? जब ती पात्र आफैं आउँछु भन्दा पनि रोक्ने र कानुनी प्रक्रियालाई लम्ब्याउने खेल खेलियो, अहिले जनताले बल्ल बुझे— यो खोजाइ न्यायका लागि रहेन्छ, नाटक पो रहेछ। सांसद र मन्त्रीहरूले फजुल खर्च रोक्ने र स्वकीय सचिवको लस्कर हटाउने बाचा गरेका थिए। तर व्यवहारमा के देखियो? मन्त्रालयभित्रै १२५ जनाभन्दा बढीको सचिवालय खडा गरेर उनीहरूले पुराना दलहरूलाई समेत पछि पारे। ‘सादा जीवन, उच्च विचार’ को नारा त केवल भोट तान्ने चुनावी मसला मात्र पो रहेछ! जसले सधैं अरूको नैतिकतामाथि तरबार चलाए, विरोधीहरूलाई तह लगाउन नैतिकताको पाठ सिकाइए, उनीहरूकै अडियो र भिडियोहरू जब बाहिरिए, जस्ले भोट दिए उनै नागरिकको शिर लज्जाले भुइँमा खस्यो। "एमाले र कांग्रेसले ३५ वर्ष देश लुटे" भन्दै जनताको आक्रोशमा राजनीति गर्नेहरू सत्तामा पुग्दा उनीहरूभन्दा एक कदम अगाडि देखिए। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र शासकीय स्वरूप सुधारका चर्का कुरा गर्नेहरू जब सत्ताको कुर्सीको खेलमा रुममलिए, तब स्पष्ट भयो— पात्र नयाँ भए पनि प्रवृत्ति त उही पुरानो सामन्ती र भागबन्डाकै रै'छ। ​सहकारी पीडितको बचत फिर्ता गराउने बाचा हावामा उड्यो, उल्टै विवादित मुद्दाहरूलाई मिलाउने खेल भयो। केपी ओलीलाई ‘बुढो’ भनेर व्यङ्ग्य गर्नेहरूले तिनैभन्दा जेठा उमेरको पात्रलाई प्रधानमन्त्रीको कुर्सीमा बसाएर नयाँ राजनीतिको क्रूर उपहास गरे। जेनजी (Gen Z) आन्दोलन र युवाको जोशलाई केवल 'भोट ब्याङ्क' बनाएर सत्ताको भर्‍याङ चढ्नेहरूबाट जुन कार्यशैली देखियो, त्यसले नयाँ पुस्ताको सुन्दर सपनामाथि चिसो पानी खन्याइदिएको छ। ​आज मतदाताहरू पछुताउनु र आत्मग्लानी महसुस गर्नु बाहेक अरु केहि छैन। जनताले त घण्टी बजाएका थिए— देशमा सुशासनको उज्यालो बिहान ल्याउन, पारदर्शिताको नयाँ सूर्य उदाउन। तर घण्टी बज्दाबज्दै सुतेका जनता त जागे, तर कुर्सी पाएपछि यी नेताहरू आफैं मस्त निदाए। ​राजनीतिमा वाचा र आचरणको यो खाडलले आज एउटा निर्मम सत्य उजागर गरेको छ— नाम र चुनाव चिह्न फेरिएर मात्र देश बन्दो रहेनछ, नियत र प्रवृत्ति बदलिनु पर्ने रहेछ। यदि अझै यहि पारा हो भने यी ‘नयाँ’ भनिएकाहरूलाई जनताले जसरी घण्टी बजाए त्यसरि नै सत्ताबाट सदाका लागि बिदा गर्ने अन्तिम साइरन बजाउने छन। शिव अधिकारी कास्की