धनकुटामा किबीबाट वाइन, किसानलाई बजारको नयाँ बाटो
👤 सनस्टार संवाददाता |

**२०८३ मंसिर १२ **
**धनकुटा** । पहाडी बारीमा लटरम्मै फलेको किबीले बजार नपाउँदा किसानको मेहनत खेर जाने समस्या अब केही कम हुने भएको छ । आकार र बाहिरी स्वरूप नमिलेका कारण कम मूल्यमा बिक्री गर्नुपर्ने वा बारीमै कुहिने किबीलाई प्रशोधन गरेर वाइन उत्पादन गर्न थालिएपछि धनकुटाका किसानका लागि बजारको नयाँ ढोका खुलेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२, तोरीबारीमा स्थापना भएको बसन्तपुर तिनजुरे बेभरेज प्रालिले स्थानीय किबीलाई ‘तिनजुरे बगान’ ब्रान्डमा वाइनका रूपमा बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । करिब १५ करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको उद्योगले स्थानीय कृषि उपजलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
उद्योगले नियमित रूपमा किबी वाइन उत्पादन गरिरहेको भए पनि व्यावसायिक बिक्री सुरु गर्नुअघि स्वाद, गुणस्तर र उपभोक्ताको रुचि परीक्षण गरिरहेको जनाएको छ । दसैँ र तिहारको बीचमा काठमाडौंका वाइन पारखीमाझ गरिएको परीक्षणबाट प्राप्त सुझावका आधारमा उत्पादनको स्वाद र गुणस्तरमा थप सुधार भइरहेको छ ।
उद्योग सञ्चालक दुर्गामणि पौडेलका अनुसार स्थानीय कृषि उपजको उपयोग बढाउने र किसानको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो । गुणस्तरमा कुनै सम्झौता नगरी व्यावसायिक बिक्री सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
**किसानको बारीदेखि उद्योगसम्म किबीको यात्रा**
२०७४ सालमा स्थापना भएको उद्योगले आफ्नै करिब एक सय रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आएको छ । तर, आफ्नै बगानको उत्पादनले मात्रै उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ नपुग्ने भएपछि स्थानीय किसान र छिमेकी जिल्लाबाट समेत किबी खरिद गर्न थालिएको छ ।
उद्योगको वार्षिक उत्पादन क्षमता तीन लाख लिटर रहेको छ । पूर्ण क्षमतामा सञ्चालन गर्न वार्षिक पाँच सय मेट्रिक टन किबी आवश्यक पर्ने भए पनि पर्याप्त कच्चा पदार्थको अभावमा उद्योगले अहिले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको छैन ।
गत वर्ष किसानबाट प्रतिकिलो ८० रुपैयाँका दरले किबी खरिद गरेको उद्योगले चालु वर्ष बी र सी ग्रेडका किबीसमेत बारीबाटै उठाउन थालेको छ । बजारमा सहजै बिक्री नहुने वा कम मूल्य पाइने किबीलाई उद्योगले कच्चा पदार्थका रूपमा उपयोग गर्न थालेपछि किसानका लागि उत्पादन बिक्री गर्ने अर्को विकल्प थपिएको छ ।
स्थानीय किसान टीकाराम गुरुङका अनुसार पहिले बजारमा सहजै बिक्री नहुने किबीसमेत उद्योगले खरिद गर्न थालेपछि किसानलाई राहत पुगेको छ । उत्पादन भएको सबै फल बिक्री नहुँदा आर्थिक क्षति बेहोर्नुपर्ने समस्या रहेकोमा उद्योगले त्यस्ता फलको उपयोग गर्न थालेपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्न थालेको उनले बताए ।
**१५ करोडभन्दा बढी लगानी, गाउँमै रोजगारी**
जग्गा, किबी खेती र औद्योगिक संरचनासहित उद्योगमा हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । निजी लगानीका अतिरिक्त सरकारी तथा विकास साझेदारबाट पनि उद्योगले सहयोग प्राप्त गरेको छ ।
उद्योगले कृषि मन्त्रालयबाट २५ लाख रुपैयाँ र विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक करिडोर कार्यालयबाट ७० लाख रुपैयाँ अनुदान पाएको छ । उक्त सहयोगबाट करिब दुई करोड रुपैयाँ लागतका क्रसिङ तथा ज्याकेटेड मेसिन खरिद गरिएको उद्योगले जनाएको छ ।
उद्योगले नियमित रूपमा पाँच जनालाई रोजगारी दिएको छ । किबी उत्पादनको मौसममा भने १५ देखि २० जनासम्मले काम पाउने गरेका छन् ।
महालक्ष्मी नगरपालिका–२ का वडा सदस्य तथा किसान दिलबहादुर मगरले उद्योगले स्थानीय कृषि उपजको बजारीकरण र रोजगारी सिर्जनामा सहयोग पुर्याएको बताए । गाउँमै उत्पादन भएको किबी प्रशोधन गर्ने व्यवस्था भएपछि किसानलाई बजारको विकल्प थपिएको र स्थानीय आर्थिक गतिविधि बढाउन मद्दत पुगेको उनको भनाइ छ ।
कृषि उपजमा आधारित उद्योग भए पनि वाइन उत्पादनमा लाग्ने अन्तःशुल्कका कारण लागत बढेको सञ्चालक पौडेलको गुनासो छ । कृषि उत्पादन प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने उद्योगलाई करमा सहुलियत दिनुपर्ने उनको माग छ । स्थानीय किसानबाट कच्चा पदार्थ खरिद गर्ने र गाउँमै रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन गर्न सके ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने उनले बताए ।
**खाडी मुलुकसम्म किबी वाइन पुर्याउने लक्ष्य**
उद्योगले ‘तिनजुरे बगान’ ब्रान्डको किबी वाइन बजारमा ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । गुणस्तर परीक्षण र उपभोक्ताको सुझावअनुसार आवश्यक सुधार पूरा भएपछि व्यावसायिक बिक्री सुरु गर्ने योजना रहेको उद्योगले जनाएको छ ।
आगामी वर्षदेखि उत्पादन क्षमता विस्तार गर्ने र केही वर्षभित्र खाडी मुलुकसम्म किबी वाइन निर्यात गर्ने लक्ष्य उद्योगले लिएको छ ।
किबीको व्यावसायिक खेती, प्रशोधन र बजार विस्तारलाई एउटै शृङ्खलामा जोड्ने उद्योगको प्रयासले धनकुटाका किसानलाई उत्पादन बिक्री गर्ने नयाँ अवसर दिएको छ । बारीमा खेर जाने फलबाट मूल्यवान् उत्पादन तयार पार्ने यस्तो पहलले कृषि उपजको सदुपयोगसँगै स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ ।