पार्टीमा आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई ओलीको आग्रह ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने । २०८३ असोज १४ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा उनले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताए । ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छोडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,’ उनले भने । ओलीले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो । ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा केन्द्रित भएर संगठन परिचालन गर्न कार्यकर्तालाई आग्रह गरे । एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे । ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने । ‘डिजिटल वार’ मा सक्रिय हुन निर्देशन अध्यक्ष ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले पनि प्रभावकारी उपस्थिति देखाउनुपर्ने बताए । पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्‍याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । उनले कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र अनुशासनमा ध्यान दिन निर्देशन दिए । भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए । उनले पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताए । महासचिव पोखरेलका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइनेछ । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने तथा जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधि सञ्चालन गरिनेछ । भर्चुअल कार्यक्रममा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरूको सहभागिता थियो ।