पुण्य प्रसाद पौडेलको "मेरो संस्कृति र म" पुस्तक सार्वजनिक।
👤 सनस्टार संवाददाता | 📅 2026-09-17

पोखरा । लेखक पुण्य प्रसाद पौडेलको दोस्रो कृति ‘मेरो संस्कृति र म’ सार्वजनिक गरिएको छ। २०६ पृष्ठमा प्रकासित पुस्तकमा नेपाली संस्कृति, धर्म, साहित्य, इतिहास, समाज तथा समसामयिक विषयसँग सम्बन्धित विविध सामग्री समेटिएको छ।
कार्यक्रममा परिचर्चाकार प्रचण्ड शक्ति गुरुङले पुस्तकका परिचर्चा गर्दै भाषा, संस्कृति र लेखक पौडेलका विषयमा चर्चा गर्नुभएको थियो। उहाँले पुस्तकमा संस्कृति र सामाजिक विषयलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको बताउनुभयो।
पुस्तकमा संस्कृति, रामायण महाकाव्य, धर्मको उत्पत्ति, साहित्य, गणेश पुराण तथा नेपालका खस जातिलगायतका विषय समावेश छन्।
पुस्तकको खण्ड ‘ख’ अन्तर्गत समाजवाद
र नेपालको आर्थिक अवस्था, अन्नपूर्ण गाउँपालिकाको वर्तमान अवस्था, ‘जेन्जी’ आन्दोलनलगायत समसामयिक विषय समेटिएका छन्। पुस्तकको अन्त्यमा लेखक पौडेलको आफ्नै जीवनकथा समेत प्रस्तुत गरिएको छ।
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम जीवन आचार्यले सञ्चालन गर्नुभएको थियो भने माधब बास्तोलाले स्वागत स्वागत गर्नुभएको थियो ।कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिव धनन्जय दवाडी एवं नेपाली कांग्रेसका नेता शुक्रराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
"मेरो संस्कृति र म" लेखक पुण्य प्रसाद पौडेलको दोस्रो कृतिका रूपमा प्रकाशित भएको पुस्तक हो।
पुस्तकमा धर्म, संस्कृति, साहित्य, समाज, अर्थतन्त्र र समसामयिक घटनालाई समेट्दै लेखकका आफ्ना विचार तथा अनुभवसमेत प्रस्तुत गरिएको छ।