आज भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
👤 सनस्टार संवाददाता |

आज भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक २५ गते
नेपालीहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहारअन्तर्गत आज भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरेको छ।
बिहानैदेखि देशभरका घरघरमा भाइटीकाको चहलपहल सुरु भएको छ। दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुग्ने क्रम जारी छ भने टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू पनि भेटघाट र शुभकामना आदानप्रदानको तयारीमा जुटेका छन्।
भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली तथा सयपत्री फूलको माला लगाइदिने परम्परा छ।
झिलिमिली बत्ती, फूलमाला, सेलरोटी, मिठाई, देउसीभैलो, काग, कुकुर, गाई र गोरुको पूजा तथा नेपाल संवत्को नयाँ वर्षको प्रारम्भले तिहारलाई विशेष सांस्कृतिक महत्त्व दिएको छ। यसै अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीसमेत मनाइन्छ।
तिहारले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै पारिवारिक एकता, सामाजिक सद्भाव र आपसी प्रेमको सन्देश प्रवाह गर्दै आएको छ।