प्रथम सूर्य कपको उद्घाटनमै रिटर्नी र उद्योगी महासंघको भिडन्त
👤 सनस्टार संवाददाता |

**२३ असोज ,२०८३ **
**पोखरा** । खेलकुदमार्फत एकता, सहकार्य र खेलभावनाको सन्देश फैलाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रथम सूर्य कप ६ ‘ए’ साइड आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा रिटर्नी फेडेरेसन नेपाल र नेपाल उद्योग तथा व्यवसायी महासंघबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा असोज २४ र २५ गते पोखरा–२५, हेम्जास्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमै दुई संस्थाका टोली आमनेसामने हुन लागेका हुन्। उद्घाटन खेललाई लिएर खेलप्रेमीमाझ उत्सुकता बढेको छ।
नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्ण पुनका अनुसार प्रतियोगितामा सहभागी टोलीका लागि तीन हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताको विजेताले ३३ हजार ३३३ रुपैयाँ र उपविजेताले २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता संयोजक विश्वदल गुरुङले युवा तथा खेलाडीलाई खेलकुदमा प्रोत्साहित गर्दै विभिन्न क्षेत्रका संस्थाबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगितामा विभिन्न आमन्त्रित टोलीको सहभागिता रहनेछ।
खेल मैदानमा हुने प्रतिस्पर्धाले खेलाडीको प्रतिभा प्रदर्शनसँगै संस्थाबीच आपसी सद्भाव, सहकार्य र खेलभावना अभिवृद्धि गर्ने आयोजकको अपेक्षा छ।