पोखरेलले रोकेका थिए विद्या भण्डारीको सदस्यता नवीकरण काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पार्टीभित्रको शक्ति समीकरण र आन्तरिक समीकरणमा व्यापक फेरबदल देखिएको छ। भण्डारीको आगमनलाई रोक्न महासचिव शंकर पोखरेलले सुरुदेखि नै कडा प्रयास गरेको चर्चा भइरहँदा उनीमाथि पार्टी राजनीतिमा मात्र नभई बैठकको आसनमै धक्का लागेको छ। स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कन नदिन महासचिव पोखरेलले सुरुवाती चरणदेखि नै शक्ति प्रयोग गर्दै आएका थिए। पार्टीमा भण्डारीको पुनरागमन र सदस्यता नवीकरणसम्बन्धी प्रक्रियालाई पर धकेल्न तथा उनलाई सक्रिय राजनीतिमा रोक्न पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई समेत दबाबमा राख्ने प्रयास गरेका थिए। पार्टी पुनर्गठनका नाममा आन्तरिक नेतृत्व कब्जा गर्ने रणनीतिका साथ पोखरेल अघि बढेपछि अध्यक्ष ओलीकै प्रस्तावमा विधानको बाधा अड्काऊ फुकाएर असोज ८ गतेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई अध्यक्षपछिको वरीयता रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो। भण्डारीको पुनरागमन रोक्ने पोखरेलको प्रयास असफल मात्र भएन, भण्डारीको इन्ट्रीसँगै महासचिव पोखरेलको ‘शासन र आसन’ दुवै फेरिएको छ। बिहीबार पहिलोपटक वरिष्ठ नेताको हैसियतमा भण्डारी पार्टी कार्यालयको बैठकमा सहभागी भएपछि बैठक कक्षको दृश्य नै बदलिएको छ। विगतका बैठकहरूमा अध्यक्ष ओलीको ठीक छेउमा महासचिव, उपमहासचिव र सचिवहरूको लाइनको नेतृत्व गर्दै अध्यक्षको आडमा बस्ने गरेका पोखरेल यस पटक भने उपाध्यक्ष गोकर्ण विष्टको छेउमा पुगेका छन्। भण्डारीले अध्यक्षको आडमा बसेर गरिने गुटबन्दी र अस्वाभाविक शक्ति अभ्यास अनुचित रहेको धारणा राखेपछि पुरानो सिट व्यवस्थापन खारेज भएको छ। नयाँ मर्यादाक्रम अनुसार अब अध्यक्षको एकातर्फ वरिष्ठ नेता र दोस्रो वरीयताका उपाध्यक्ष तथा अर्कातर्फ पहिलो वरीयताका उपाध्यक्ष र अन्य उपाध्यक्षहरू रहने व्यवस्था गरिएको छ। सोही अनुसार भण्डारीलाई शपथ गराएर बिहीबारको बैठक अघि बढाइएको थियो। २०७२ सालमा शीतल निवास प्रवेश गरेपछि पार्टी राजनीतिबाट अलग रहेकी भण्डारीको यो पुनरागमनले उनलाई रोक्न खोज्ने महासचिव पोखरेल समूहलाई ठूलो राजनीतिक धक्का दिएको विश्लेषण गरिएको छ।