प्रथम सूर्य कप फुटबल प्रतियोगिताको दोस्रो दिन क्वार्टरफाइनलका बाँकी खेल, दिउँसो फाइनल २०८३ असोज २६ , पोखरा । प्रथम सूर्य कप ६ ‘ए’ साइड आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिन क्वार्टरफाइनलका बाँकी खेल सञ्चालन हुने भएका छन्। नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा भइरहेको प्रतियोगितामा क्वार्टरफाइनलका खेल सम्पन्न भएपछि सेमिफाइनल हुँदै फाइनल खेल सञ्चालन गरिने कार्यक्रम रहेको छ। प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले गरेका थिए। प्रतियोगिताले खेलकुदको विकास, स्वस्थ जीवनशैली प्रवर्द्धन तथा राजनीतिक र सामाजिक क्षेत्रका नेता–कार्यकर्ताबीच आपसी सद्भाव र भावनात्मक एकता कायम गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। दोस्रो दिनको खेलतालिकाअनुसार बिहान ८:३० बजे नेकपा एमाले रूपा गाउँपालिका र आयोजक निलोबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी बिहान ९ बजे नेकपा एमाले पोखरा–२९ र युथ भोलिन्टियर्सबीच खेल हुनेछ। बिहान ९:३० बजे नेकस स्याङ्जा र नेपाल उद्योग तथा व्यवसायी महासंघबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। क्वार्टरफाइनलका खेलबाट छनोट भएका टोलीबीच बिहान १०:३० बजेदेखि सेमिफाइनलका खेल सञ्चालन हुनेछन्। त्यसपछि दिउँसो १२:३० बजे फाइनल खेल हुने कार्यक्रम तय गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ३३ हजार ३३३ रुपैयाँ र उपविजेता टोलीले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। दुवै टोलीलाई शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने प्रतियोगिता संयोजन बिश्वदल गुरुङले जानकारी गराए। संयोजन गुरुङका अनुसार प्रतियोगिताको समापन नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले गर्ने गर्नेछन।