२२ औँ लेखनाथ महोत्सवको प्रचारमा बृहत् साइकल र्‍याली हुने पोखरा । २२औँ लेखनाथ महोत्सव–२०८३ को प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् साइकल र्‍याली आयोजना हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको र्‍याली मंसिर १९ गते शनिबार बिहान ६ः३० बजे सञ्चालन हुने संघको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले जानकारी गराए । र्‍याली महोत्सवस्थलबाट पावरहाउस हुँदै बेगनासताल पुगेर पुनः महोत्सवस्थलमा आएर समापन हुने कार्यक्रम रहेको उनले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित आयोजना हुने २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म पोखरा–२७, तालचोकस्थित डाँडाकोनाकमा सञ्चालन हुनेछ। महोत्सवमार्फत लेखनाथ क्षेत्रको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखिएको उपाध्यक्ष बास्तोलाले बिश्वास बेक्त गरे । साइकल र्‍यालीले महोत्सवको प्रचारसँगै साइकल पर्यटन र स्वस्थ जीवनशैलीको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको उनले बताए ।