प्रथम सूर्य कप फुटबल प्रतियोगिता २०८३ भब्य रुपमा सम्पन्न खेलकुद महासंघ स्याङ्जा प्रथम, कास्की रातो दोस्रो पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा सम्पन्न प्रथम सूर्य कप ६ ‘ए’ साइड आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि नेपाल खेलकुद महासंघ स्याङ्जाले जितेको छ। प्रतियोगितामा नेपाल खेलकुद महासंघ कास्की रातो उपविजेता बनेको छ। पोखरा महानगरपालिका–२५, हेम्जास्थित आरएस फुटबल खेलमैदानमा असोज २४ र २५ गते सञ्चालन भएको प्रतियोगितामा विभिन्न क्षेत्र तथा संस्थाको प्रतिनिधित्व गर्ने १७ टोली सहभागी थिए। प्रतियोगितामा विजेता स्याङ्जाले नगद ३३ हजार ३३३ रुपैयाँ र उपविजेता कास्की रातोले २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। विजेता तथा उपविजेता टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, कास्की जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्री, नेपाल खेलकुद महासंघका विज्ञ आयोग अध्यक्ष भरत गोदार, महासंघकी केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सरस्वती श्रेष्ठ तथा नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको उद्घाटन नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए। खेलकुदमार्फत पार्टीका नेता तथा कार्यकर्ताबीच भावनात्मक एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने तथा फुटबललाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण पुनले जानकारी दिए