मुख्य समाचार

बाढीले विच्छेद गरेको बिरेठाँटी सडक पुनर्निर्माणपछि यातायात सञ्चालमा आयो।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-19
बाढीले विच्छेद गरेको बिरेठाँटी सडक पुनर्निर्माणपछि यातायात सञ्चालमा आयो।
कास्की, असोज २ । साउन २२ गते मोदीखोलामा आएको बाढीका कारण भत्किएर अवरुद्ध भएको कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीस्थित सडक पुनर्निर्माण सम्पन्न भएपछि आज असोज २ गतेदेखि यातायात सञ्चालनमा आएको छ। सडक अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ अर्थात् साविक दाङसिङ र घान्द्रुक क्षेत्रका बासिन्दा मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए। बाढीले क्षति पुर्‍याएको बिरेठाँटी सडक उक्त क्षेत्रका चारवटा वडाको ‘लाइफलाइन’का रूपमा रहेको मुख्य सडक नाका हो। सडक पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाहरूबीच समन्वय र सहकार्य गरिएको थियो। सडक पुनर्निर्माणको प्रारम्भिक काम भदौ २ गतेदेखि भदौ ९ गतेसम्म गरिएको थियो। सो अवधिमा मोदीखोलाको बहावलाई डाइभर्सन गरी सडक पुनर्निर्माणका लागि आवश्यक आधार तयार गरिएको थियो। त्यसपछि भदौ १० गतेदेखि असोज २ गतेसम्म ग्याबिन जाली भर्ने, ब्याकफिलिङ गर्ने तथा सडक संरचना पुनर्निर्माणको काम अघि बढाइएको थियो। पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको अन्नपूर्ण प्रकोप व्यवस्थापन कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोगसमेत जुटाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP), माछापुच्छ्रे, मादी र रूपा गाउँपालिकालगायत छिमेकी स्थानीय तह, तमु धिं नेपाल, विभिन्न संघसंस्था, राजनीतिक दल, आमा समूह, चेलीबेटी समूह, भाइखलक समाज, देश–विदेशमा रहेका सामाजिक संस्था तथा व्यक्तिहरूबाट सहयोग प्राप्त भइरहेको गाउँपालिकाले जनाएको छ। सडक पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले ग्याबिन तारजाली उपलब्ध गराएको थियो। नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवर्द्धित उपल्लो मोदी हाइड्रोपावर कम्पनी र लान्द्रुक मोदी हाइड्रोपावर कम्पनीबाट एक्साभेटरलगायत आवश्यक मेसिन उपलब्ध गराइएको थियो। एक्साभेटर तथा टिपरमा प्रयोग हुने सम्पूर्ण डिजेल खर्चसहित अन्य व्यवस्थापन खर्च अन्नपूर्ण गाउँपालिकाले व्यहोरेको थियो। त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–७ ले ग्याबिन भर्न आवश्यक सम्पूर्ण ढुङ्गा तथा ग्राभेल व्यवस्थापन गरेको थियो। नेपाली सेनाबाट भदौ १० गतेदेखि असोज २ गतेसम्म ४५ जनाले श्रमदान गरेका थिए। सडकको अर्को भागमा भने गाउँपालिकाले टेन्डरमार्फत निर्माण व्यवसायी परिचालन गरी ग्याबिन भर्ने काम सम्पन्न गरेको थियो। सडक पुनर्निर्माण अभियानमा राजनीतिक दलहरूको समेत सहयोग रहेको गाउँपालिकाले जनाएको छ। नेकपा (एमाले)ले २१० घनमिटर ग्याबिन जाली भर्ने बराबरको १ लाख ६८ हजार १०० रुपैयाँ सहयोग गरेको थियो। नेपाली कांग्रेसबाट ६५ घनमिटर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १५ घनमिटर ग्याबिन जाली भर्ने सहयोग भएको जनाइएको छ। पुनर्निर्माण अवधिभर अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर शैलेन्द्र क्षेत्रीको नेतृत्वमा प्राविधिकहरू दीपक लामिछाने, विमल भण्डारी र चक्र धितालसहित चार सदस्यीय प्राविधिक टोली निरन्तर खटिएको थियो। ***असोज २ गते सेनाको टोलीलाई सम्मानसहित बिदाइ*** सडक पुनर्निर्माण सम्पन्न भएको अवसरमा असोज २ गते अन्नपूर्ण गाउँपालिकाले कार्यक्रम आयोजना गरी पुनर्निर्माणमा श्रमदान गर्ने नेपाली सेनाको टोलीलाई सम्मानसहित बिदाइ गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय आमा समूहका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापति भोलानाथ थापाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पश्चिम पृतनापति भोलानाथ थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी तथा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सम्बोधन गर्नुभएको थियो। बाढीका कारण साउन २२ गतेदेखि अवरुद्ध भएको सडक भदौ २ गतेदेखि पुनर्निर्माणको औपचारिक काम अघि बढाउँदै असोज २ गते पुनः सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालनमा आएसँगै अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बासिन्दाको मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँगको यातायात सम्पर्क पुनःस्थापित भएको छ। सडक पुनर्निर्माणमा सहयोग तथा सहकार्य गर्ने गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, ACAP, जलविद्युत् कम्पनी, छिमेकी स्थानीय तह, राजनीतिक दल, विभिन्न संघसंस्था, सामाजिक समूह, देश–विदेशमा रहेका सहयोगदाता तथा स्थानीयवासीप्रति अन्नपूर्ण गाउँपालिकाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।