बिरेठाँटीमा विपद् कोषको हिसाब सार्वजनिक, सहयोगी दातालाई सम्मान
👤 सनस्टार संवाददाता |

**पोखरा** । विपद्का बेला जुटेको सहयोग, पुनर्निर्माणमा भएको खर्च र विकास निर्माणको प्रगतिलाई सार्वजनिक गर्दै अन्नपूर्ण गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको अभ्यास अघि बढाएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले आइतबार बिरेठाँटीमा विपद् व्यवस्थापन कोषको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नुका साथै सडक पुनर्निर्माणमा सहयोग गर्ने व्यक्ति, संघ–संस्था र निकायलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको छ।
अन्नपूर्ण गाउँपालिका–८, बिरेठाँटीमा आयोजित कार्यक्रममा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक विपद् पुनर्निर्माण आयोजनाअन्तर्गत कोषमा जम्मा भएको रकम, त्यसबाट भएको खर्च तथा पुनर्निर्माण कार्यको प्रगतिबारे जानकारी गराइएको हो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, जनप्रतिनिधि, सहयोगी दाता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले विपद् व्यवस्थापन कोषमा प्राप्त सहयोग, भएको खर्चको विस्तृत विवरण र पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएका थिए। विपद्का बेला प्राप्त सहयोगलाई व्यवस्थित रूपमा परिचालन गर्दै क्षतिग्रस्त सडक पुनः सञ्चालनमा ल्याउने काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले विपद्को कठिन घडीमा साथ दिने गण्डकी प्रदेश सरकार, नेपाली सेना, सहयोगी दाता, हाइड्रोपावर कम्पनी, प्राविधिक टोली, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिकाका कर्मचारीप्रति आभार व्यक्त गरे।
उनले विपद् व्यवस्थापन र सडक पुनर्निर्माणका क्रममा सहयोग गर्ने सबै पक्षको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रशासनिक तथा प्राविधिक टोलीको सक्रियताले पुनर्निर्माणको काम अघि बढाउन सहयोग पुगेको बताए। विपद्का बेला सरकारी निकाय, निजी क्षेत्र, संघ–संस्था र नागरिकबीचको सहकार्यले संकटको सामना गर्न सहज हुने उनको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, सम्बन्धित वडाका अध्यक्ष तथा सहयोगदाता प्रतिनिधिहरूले पनि विपद्का बेला प्राप्त सहयोगको प्रशंसा गर्दै पुनर्निर्माण अभियानमा हातेमालो गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।
**बाढीले सडक काटेपछि जुट्यो सहयोग**
गत साउनमा मोदी खोलामा आएको बाढीले बिरेठाँटी क्षेत्रमा करिब एक सय मिटर कालोपत्रे सडक कटान गरेपछि बिरेठाँटी–घान्द्रुक सडकको सम्पर्क विच्छेद भएको थियो। सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाको आवागमनसँगै पर्यटकीय गतिविधिमा समेत असर परेको थियो।
क्षतिग्रस्त सडक पुनर्निर्माणलाई गति दिन गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी सहयोगको आह्वान गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति, संघ–संस्था, हाइड्रोपावर कम्पनी तथा सरोकारवाला निकायबाट प्राप्त सहयोग परिचालन गरी पुनर्निर्माणको काम अघि बढाइएको हो।
अन्नपूर्ण क्षेत्रको पर्यटन, स्थानीय जनजीवन र आवागमनसँग प्रत्यक्ष जोडिएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको पुनर्निर्माणलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
**पारदर्शितासँगै दिगो पुनर्निर्माणमा जोड**
विपद् व्यवस्थापन कोषको विवरण सार्वजनिक गर्नु र सहयोगदातालाई सम्मान गर्नुको उद्देश्य प्राप्त सहयोगको सदुपयोगबारे जानकारी गराउनु तथा विपद्का बेला साथ दिने हातहरूप्रति कृतज्ञता प्रकट गर्नु रहेको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष केसीले सडकको पुनर्निर्माण तत्कालको आवागमन सहज बनाउने काममा मात्र सीमित नराखी दिगो व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए। पर्यटकीय दृष्टिले महत्वपूर्ण यस सडकलाई सुरक्षित र भरपर्दो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
विपद्ले क्षति पुर्याएको सडक पुनर्निर्माणमा देखिएको सामूहिक पहलले स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र र नागरिकबीचको सहकार्यको महत्वलाई उजागर गरेको छ। गाउँपालिकाले विपद् व्यवस्थापन कोषको पारदर्शी परिचालन र पुनर्निर्माणमा सहयोगीहरूको सहभागितालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।