**२६ असोज २०८३,** पोखरा । सिरिङ्गे हिमालमा गएको हिमपहिरोले उइन्गुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ भने पाँच जना स्थानीय अझै बेपत्ता छन्। बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित ७०३ जना परिचालन गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीका क्रममा आरुघाट जलमापन केन्द्रमा नदीको सतह खतराको तह पाँच मिटरभन्दा बढेर ८.४३ मिटरसम्म पुगेको थियो। सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन करिब दुई लाख जनालाई पूर्वसूचना पठाइएको थियो। बाढीले गोरखा र धादिङका २०० भन्दा बढी घरमा क्षति पुर्‍याउनुका साथै करिब डेढ सय चौँरीगाई तथा भेडाबाख्रा बगाएको छ। खानेपानी आयोजना, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालय तथा अन्य संरचनामा पनि क्षति पुगेको छ। त्यसैगरी, मनास्लु पदमार्ग र गोरखा–धादिङ जोड्ने सडकका तीन पक्की पुल तथा दुई झोलुङ्गे पुलमा क्षति पुगेपछि आवागमन प्रभावित भएको छ। विपद्पछि राहत तथा पुनर्निर्माणका कामलाई सरकारले तीव्रता दिएको छ। सोमबार हवाई साधनमार्फत गोरखाको फिलिममा चार हजार २७० किलोग्राम खाद्यान्न र एक हजार ९०० लिटर हवाई इन्धन पुर्‍याइएको छ। आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालन गर्न बेलिब्रिज निर्माणको काम अघि बढाइएको छ भने छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ। सरकारले दसैँअघि नै अवरुद्ध सडक सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। बेपत्ताको खोजी, प्रभावित नागरिकलाई राहत वितरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई एकसाथ अघि बढाइने जनाएको छ।