मदन भण्डारी कप भलिबल : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुटवलस्थित बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा पुलिस क्लबले भारतको खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ सेटमा पराजित गरेको हो। पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५ र २५–१९ को जित निकाल्यो। लगातार दोस्रो जितसँगै समूह ‘ए’ मा रहेको नेपाल पुलिस क्लबको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। यस्तै, समूह ‘ए’ कै अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० सेटमा पराजित गरेको छ। मणिमुकुन्दले २५–१९, २५–२० र २५–१६ को सहज जित निकालेको हो। प्रतियोगितामा मणिमुकुन्दको यो पहिलो जित हो भने श्रीलंका पुलिसको लगातार दोस्रो हार हो। यसअघि श्रीलंकन टोली नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो। यसैगरी, समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा सभापोखरी भलिबल क्लबले भारतको गुजरात स्पोर्टिङ क्लबलाई ३–० को सोझो सेटमा हरायो। सभापोखरीले गुजरातमाथि २५–१८, २५–१३ र २५–२१ को जित दर्ता गर्‍यो। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका चार र विदेशका तीन गरी सात टोली सहभागी छन्। प्रतियोगिता असोज १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित ७ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेता टोलीलाई कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ८ हजार रुपैयाँसहित सम्मान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।