**१३ कार्तिक २०८३** **पोखरा** । मदन भण्डारी फाउन्डेसन कास्कीको आयोजनामा विभिन्न चाडपर्वको अवसर पारेर आगामी कात्तिक २१ गते पोखरामा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। पोखरा सभागृह, सभागृहचोकमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा चाडपर्वको खुसी साटासाट गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। विविधतायुक्त नेपाली समाजमा चाडपर्वले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ। मदन भण्डारी फाउन्डेसन कास्कीले कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण कला, संस्कृति प्रेमी, शुभेच्छुक तथा सर्वसाधारणलाई हार्दिक अनुरोध गरेको छ।