लान्द्रुकमा घोडा दौडको रौनक, संस्कृति जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड।
👤 सनस्टार संवाददाता |

**२०८३ कात्तिक १० गते**
**लान्द्रुक, कास्की **। क्युप्चे बराह क्लबको आयोजनामा सञ्चालित ‘गन्तव्य लान्द्रुक दशैं मेला २०८३’ अन्तर्गत पाँचौँ दिन ऐतिहासिक घोडा दौड प्रतियोगिताको उद्घाटन गरिएको छ। नेपाल सरकारका सचिव तथा लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
लान्द्रुकको ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानसँग जोडिएको घोडा दौड प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रमुख अतिथि कुँवरले यस्ता परम्परागत खेलले गाउँको पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
घोडा दौड मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति र परम्पराको संरक्षण, पर्यटन विकास, स्थानीय अर्थतन्त्रको विस्तार तथा रोजगारी सिर्जनाको सम्भावनायुक्त आधारसमेत भएको उहाँको भनाइ थियो। स्थानीय मौलिकता, प्राकृतिक सौन्दर्य र साहसिक खेलकुदलाई एकै ठाउँमा जोड्न सके लान्द्रुकलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो।
कुँवरले घोडा दौड प्रतियोगिताले घोडापालन व्यवसायको प्रवर्द्धन, खेलकुद तथा साहसिक क्षमताको विकास, स्थानीय उत्पादनको बजारीकरण र सामुदायिक एकता अभिवृद्धिमा समेत योगदान पुर्याउन सक्ने उल्लेख गर्नुभयो। यस्ता मौलिक सांस्कृतिक गतिविधिलाई व्यवस्थित र व्यावसायिक बनाउँदै लैजान सके स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने उहाँको धारणा थियो।
उहाँले समग्र अन्नपूर्ण क्षेत्रको विकासका लागि आफू सधैँ स्थानीयवासीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले घोडा दौडजस्ता ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय पहिचानलाई जीवन्त राख्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताउनुभयो। उहाँले कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै यस्ता मौलिक परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
विशिष्ट अतिथिसमेत रहनुभएका गुरुङले प्रतियोगिता सञ्चालनका क्रममा कुनै समस्या वा कठिनाइ उत्पन्न भएमा आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा क्लब तथा समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
घोडा दौड प्रतियोगितालाई नियमित वार्षिक कार्यक्रमका रूपमा विकास गर्न सके लान्द्रुकको पर्यटकीय सम्भावना थप उजागर हुने देखिन्छ। स्थानीय तह, पर्यटन व्यवसायी, युवा क्लब र समुदायबीच सहकार्य गरी प्रतियोगितालाई व्यवस्थित बनाउन सके यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै स्थानीय व्यवसाय र रोजगारीका अवसर विस्तार गर्न सहयोग पुर्याउन सक्छ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडा सदस्य राम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। क्युप्चे बराह क्लबका अध्यक्ष विनय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव बलबहादुर केसीले गर्नुभएको थियो।
‘गन्तव्य लान्द्रुक दशैं मेला २०८३’ अन्तर्गत आयोजित घोडा दौड प्रतियोगिताले स्थानीय मौलिक संस्कृति र ऐतिहासिक परम्पराको संरक्षण गर्दै लान्द्रुकको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ