जर्सी फेरियो, मैदान फेरियो, तर फुटबलप्रतिको माया र संघर्ष फेरिएन: पूर्व ‘ए’ डिभिजन खेलाडी कमल गुरुङको कथा २०८३ कार्तिक ९, काठमाडौं/मलेसिया जीवनका हरेक मोडमा परिस्थिति र जिम्मेवारी फेरिए पनि मानिसको भित्री भावना र संघर्ष गर्ने जोस कहिल्यै मर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् पूर्व सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेलाडी कमल गुरुङ। कुनै समय हरियो जर्सी र नम्बर १४ लगाएर दशरथ रंगशालाको हरियाली मैदानमा हजारौँ दर्शकको माझ पसिना बगाउने उनी, हाल रोजीरोटीका लागि मलेसियामा सेक्युरिटी गार्डको रूपमा कार्यरत छन्। सन् २०१३/१४ को समयमा नेपाली फुटबलको प्रतिष्ठित ‘ए’ डिभिजन लिगमा उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका गुरुङ आज परिवारको भविष्य निर्माणका लागि मलेसियाको चर्को घाममा संघर्ष गरिरहेका छन्। आफ्नो जीवनको यथार्थता सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै उनी भन्छन्, “हिजो मैदानमा जितका लागि पसिना बगाउँथें, आज परिवारको खुसीका लागि बगाइरहेको छु। जिम्मेवारीले पेसा फेरायो, परिस्थितिले देश फेरायो, तर फुटबलप्रतिको माया कहिल्यै फेरिएन।” नेपाली फुटबल र खेलाडीको तीतो यथार्थ कमल गुरुङको यो कथा कुनै एक व्यक्तिको मात्र नभई समग्र नेपाली खेलकुद क्षेत्र र खेलाडीहरूको दुर्दशाको प्रतिनिधिमूलक चित्र हो। देशको नाम उचो बनाउन आफ्नो उमेर, ऊर्जा र जीवनको महत्त्वपूर्ण समय पसिना बगाएका खेलाडीहरूले खेल जीवनपश्चात आर्थिक सुरक्षा र सम्मानजनक जीवीकोपार्जन गर्न नसक्नु नेपाली फुटबलको सबैभन्दा ठूलो विडम्बना बनेको छ। नेपालमा फुटबललाई नै मुख्य पेसा बनाएर बाच्न सक्ने वातावरण अझै बन्न सकेको छैन। घरेलु लिगहरू नियमित नहुने, भए पनि खेलाडीले पाउने पारिश्रमिक ज्यादै न्यून र अनियमित हुने समस्या वर्षौंदेखि कायम छ। क्लबहरूको कमजोर आर्थिक अवस्था, सरकारबाट खेलकुद क्षेत्रमा हुने अपर्याप्त लगानी र प्रायोजक (Sponsors) को अभावले गर्दा खेलाडीहरू खेल खेलेर मात्र परिवार पाल्न सक्ने अवस्थामा छैनन्। पलायनको बाध्यता र भविष्यको अनिश्चितता खेल जीवनको उचाइमा पुगेका वा उमेर ढल्किँदै गरेका अधिकांश नेपाली खेलाडीहरू विदेशिन बाध्य छन्। देशमा भविष्य र आर्थिक स्थिरताको कुनै ग्यारेन्टी नभएपछि उनीहरू खाडी मुलुक वा अन्य देशहरूमा सामान्य काम (जस्तै सेक्युरिटी गार्ड, श्रम मजदुर) गर्न जानु परिरहेको छ। कमल गुरुङजस्तै धेरै प्रतिभाहरुले खेल मैदान छाडेर परदेशी भूमिमा पसिना बगाउनु पर्ने बाध्यताले नेपाली खेलकुद क्षेत्र कता जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ। आज उमेरले ४० वर्ष पार गरिसकेका कमल गुरुङ जस्ता खेलाडीहरूले देशका लागि दिएको योगदानको राज्यले उचित मूल्याङ्कन गर्न सकेको छैन। मैदान र देश फेरिए पनि संघर्ष गर्ने उनको दृढताले लाखौँलाई प्रेरणा दिए तापनि, राज्यले खेल क्षेत्रको व्यावसायिक विकास, खेलाडीहरूको जीवनयापनको ग्यारेन्टी र पेसागत सुरक्षाका लागि ठोस नीति नल्याएलेसम्म देशका प्रतिभावान खेलाडीहरू यसरी नै विदेशिन बाध्य भइरहनेछन्। “त्यो बेलाको कमल र आजको कमल उही हो। फरक यत्ति हो— हिजो आफ्ना सपनाका लागि दौडिन्थें, आज परिवारका सपना पूरा गर्न दौडिरहेको छु,” गुरुङको यो भनाइले राज्यको खेलकुद प्रतिको अवस्था छर्लङ पारिदिएको छ