**१० कार्तिक २०८३** **काठमाडौं** । युद्ध, सुरक्षा विफलता र भ्रष्टाचारका आरोपले घेरिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि संसदीय निर्वाचन राजनीतिक भविष्यको अग्निपरीक्षा बनेको छ। इजरायली संसद्का १२० सिटका लागि सुरु भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीलाई पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धनले कडा चुनौती दिएको छ। निर्वाचनपूर्वका जनमत सर्वेक्षणले कुनै पनि पक्षले स्पष्ट बहुमत ल्याउने सम्भावना कम देखाएका छन्। यस्तो अवस्थामा लिकुड पार्टी पहिलो स्थानमा आए पनि सरकार गठनका लागि नेतान्याहुले अतिदक्षिणपन्थी दलहरूको समर्थन लिनुपर्ने हुन सक्छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण रोक्न नसकेको विषय नेतान्याहुका लागि प्रमुख राजनीतिक चुनौती बनेको छ। उक्त आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। आलोचकहरूले सुरक्षा विफलताको जिम्मेवारी लिन र स्वतन्त्र छानबिन गराउन नेतान्याहुमाथि दबाब दिँदै आएका छन्। नेतान्याहुले भने गाजा, लेबनान र इरानसँगको युद्ध तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई आफ्नो नेतृत्वको उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। अर्कोतर्फ, आइजेनकोटले नेतान्याहुमाथि जनतालाई डर र धम्कीको राजनीति देखाएको आरोप लगाउँदै मतदातालाई विकल्प रोज्न आग्रह गरेका छन्। अरब अल्पसंख्यक समुदायको मतदान र सरकार गठनका लागि हुने सम्भावित गठबन्धनले पनि निर्वाचन परिणामलाई निर्णायक रूपमा प्रभावित गर्न सक्छ। युद्धको प्रभाव, सुरक्षा संकट र राजनीतिक ध्रुवीकरणबीचको यो निर्वाचनले नेतान्याहुको सत्ता निरन्तरता मात्र होइन, इजरायलको आगामी राजनीतिक दिशा पनि तय गर्नेछ।