विवादै विवादमा मालपानी : नागरिकतादेखि गुणस्तरहीन उत्पादन र राजस्व छलीसम्म
👤 सनस्टार संवाददाता |

विवादै विवादमा मालपानी : नागरिकतादेखि गुणस्तरहीन उत्पादन र राजस्व छलीसम्म
२०८३ कार्तिक ११ , काठमाडौं ।
करेन्ट चाउचाउका प्रमुख लगानीकर्ता तथा सुर्तीजन्य पदार्थका व्यवसायी कमलकिशोर मालपानी एकपछि अर्को गम्भीर विवादमा तानिएका छन् ।
नेपाली नागरिकताको वैधतामाथिको प्रश्नदेखि करोडौँको राजस्व छली तथा गुणस्तरहीन र कम तौल भएका खाद्य र सुर्तीजन्य सामग्री बजारमा पठाएको भन्दै उनी र उनका कम्पनीहरू नियामक निकायको छानबिन र कारबाहीको दायरामा परेका हुन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मालपानीको कम्पनीद्वारा उत्पादित करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीमा तोकिएको भन्दा कम तौल फेला पारेपछि कारबाही गरेको थियो । ललितपुरस्थित पशुपति इन्टरनेश्नल बिजनेस प्रालिलाई कारबाही गर्दै सामग्रीको तौलमा कैफियत भेटिएकाले ती उत्पादनको देशभर कारोबार रोक्का गर्न निर्देशन दिइएको थियो । यस्तै, विभागले मालपानी सञ्चालक रहेको श्रीराम टोबाकोलाई ३ लाख रुपैयाँ जरिवाना समेत तिराएको थियो ।
सुर्तीजन्य पदार्थमा मात्र नभई खाद्य सामग्रीमा समेत उनको उद्योगले गुणस्तरहीन वस्तु बजारमा पठाएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको थियो । ती दुवै उत्पादनमा सरकारले तोकेको अनिवार्य मापदण्डअनुरूप 'एक्सट्राक्टेड फ्याट'को एसिड भ्यालु नपाइएपछि बजारबाट फिर्ता गर्न लगाइएको हो। यसबाहेक, एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि (दुहबी, सुनसरी) द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तरहीन पाइएपछि फिर्ता गर्न निर्देशन दिइएको थियो ।
यस्तै २०१९ सालमा सप्तरीमा जन्मिएको विवरण रहेका कमलकिशोर मालपानीको नागरिकतासमेत विवादको घेरामा छ । उनले जन्मिएको ३५ वर्षपछि अर्थात् २०५४ सालमा मात्रै जिल्ला प्रशासन कार्यालय सप्तरीबाट वंशजको आधारमा पहिलोपटक नेपाली नागरिकता (नं. ४८२०) लिएका थिए। यति ढिलो गरी नागरिकता लिनुले नै उनको नागरिकतामाथि प्रश्न उठिरहेको बेला प्रतिलिपि लिने क्रममा थप नियम उल्लंघन भएको पाइएको छ ।
प्रचलित कानुनअनुसार सरकारी कर्मचारीबाहेक सर्वसाधारण नागरिकले एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि अर्को जिल्लाबाट लिन पाउने व्यवस्था छैन। तर, सरकारी सेवामा नरहेका व्यापारी मालपानीले सप्तरीबाट जारी भएको नागरिकताको प्रतिलिपि वि.सं. २०७१ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट (नागरिकता नं. ३७-०२-७१-१३६५८) लिएका थिए । कानुनविपरीत प्रतिलिपि लिएको र नागरिकता शंकास्पद रहेको विषयमा गृह मन्त्रालयमा उजुरी परे पनि अहिलेसम्म प्रभावकारी छानबिन हुन सकेको छैन ।
मालपानीमाथि करोडौँ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा अदालतमा मुद्दा चलेको थियो । राजस्व अनुसन्धान विभागले गुट्खाको प्याकेटमा हुनुपर्ने तौलभन्दा १.५ ग्राम बढी भेटिएको आधारमा विगत सात महिनाको उत्पादन गणना गरी करिब १० करोड ३२ लाख २६ हजार ३७६ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो ।
यसअघि २०७५ माघमा राजस्व अनुसन्धान विभागको टोलीले रूपन्देही र कपिलवस्तुका विभिन्न पसलहरूमा छापा मार्दा श्रीराम टोबाकोबाट उत्पादित करेन्ट र भोला गुट्खा तथा अन्य सुर्तीजन्य पदार्थमा अन्तःशुल्क स्टिकर नटाँसिएको फेला पारेको थियो । उद्योगमै गरिएको आकस्मिक निरीक्षणका क्रममा स्टिकर मौज्दात कम देखिएको र तौलमा समेत गडबडी प्रमाणित भएपछि विभागले रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
यसरी नागरिकताको कानुनी वैधता, राजस्व छलीदेखि उपभोक्ताको स्वास्थ्यसँग जोडिएका खाद्य तथा सुर्तीजन्य पदार्थको गुणस्तर र तौलमा गरिएको खेलबाडका कारण व्यवसायी मालपानी लगातार विवादको केन्द्रमा रहँदै आएका छन् ।