संविधान जारी भएको ११ वर्ष पुगेको अवसरमा एमाले कास्कीको विचार गोष्ठी
👤 सनस्टार संवाददाता | 📅 2026-09-19

पोखरा । नेपालको संविधान जारी भएको ११ वर्ष पुगेको अवसरमा नेकपा (एमाले) कास्की जिल्ला कमिटीले शुक्रबार, असोज ३ गते, संविधान र समसामयिक राजनीतिक विषयमा विचार गोष्ठी आयोजना गरेको छ।
कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको जागरण अभियानलाई थप प्रभावकारी बनाउन वडा तहदेखि नै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले जागरण अभियानले अपेक्षित तीव्रता लिन नसकेको उल्लेख गर्दै वडा–वडाबाट पार्टीका नेता तथा कार्यकर्ता जागरुक भएर अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष क्षेत्रीले देशमा आइपर्ने विपत्तिमा नेकपा (एमाले) सामाजिक सञ्जाल वा गोगलमा मात्र देखिने पार्टी नभई प्रत्यक्ष रूपमा भूगोलमा पुगेर उद्धार तथा राहतमा खटिने पार्टी भएको दाबी गर्नुभयो। भोटेकोसी बाढीबाट सिर्जित विपत्तिका क्रममा कास्कीबाट एमालेको टोली उद्धार तथा सहयोगका लागि खटिएको उहाँले बताउनुभयो।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा मोदी खोलामा आएको बाढीका कारण बिरेठाँटीसहित अन्नपूर्ण गाउँपालिकाका वडा नं. ८, ९, १० र ११ को सडक सञ्जाल प्रभावित भएको स्मरण गर्दै अध्यक्ष क्षेत्रीले आफू स्वयं प्रभावित क्षेत्रमा पुगेर पुनर्निर्माण तथा सडक सञ्चालनका लागि सहयोग गरेको बताउनुभयो। विपत्तिका बेला जनताको बीचमा पुगेर ‘एउटा इँटा थप्ने’ काममा समेत सहभागी भएको उहाँको भनाइ थियो।
कार्यक्रममा पीपीएलए गण्डकीका अध्यक्ष कमल अर्यालले नेपालको संविधान २०४७ र २०७२ का संवैधानिक व्यवस्थाका विषयमा चर्चा गर्नुभयो। उहाँले दुवै संविधानका विशेषता तथा राजनीतिक पृष्ठभूमिबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै, नेकपा (एमाले) गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले २०७२ सालमा संविधान जारी गर्ने क्रममा विभिन्न जटिलता र चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गर्नुभयो। उहाँले संविधानका व्यवस्थाहरू र सरकारका गतिविधिबीच तालमेल आवश्यक रहेको धारणा राख्दै संविधान कार्यान्वयनका क्रममा देखिएका विषयमा पनि समीक्षा गर्नुपर्ने बताउनुभयो।
राजनीतिक विश्लेषक डा. गिरिधारी दाहालले २०७२ सालमा जारी भएको संविधानलाई राजनीतिक दस्तावेजका रूपमा व्याख्या गर्दै संविधान जनताको इच्छा र आकांक्षाअनुसार परिवर्तनशील हुने बताउनुभयो। उहाँले वर्तमान संविधानका सम्भावना तथा चुनौतीका विषयमा समेत चर्चा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का नेता तथा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने बताउनुभयो।
उहाँले २०७२ सालको संविधान जारी भएयता विभिन्न तह र तप्कामा रहेका राजनीतिक शक्तिहरूले संविधानलाई सही दिशामा अघि बढाउन के कति काम गरे भन्ने विषयमा पर्याप्त समीक्षा हुन नसकेको धारणा राख्नुभयो। त्यसको परिणामस्वरूप ‘जेन्जी आन्दोलन’ सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो।
अधिकारीले विगत ३५ वर्षको अवधिमा निर्माण भएका संरचना भत्काउने, दरबारहरू जलाउने तथा सोही अवधिमा निर्माण भएका सडकहरूमा सवारी साधन चलाउँदै गुण्डागर्दी गर्ने गतिविधिले लोकतान्त्रिक संविधानमाथि असर पार्ने काम भएको दाबी गर्दै समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीभित्र एकमना एकताका साथ संगठन सुदृढीकरणमा लाग्नुपर्ने धारणा राख्दै संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा नेकपा (एमाले)ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेकपा (एमाले) कास्कीका सचिव दर्शन लामाले गर्नुभएको थियो।