अध्यक्षसँग असहमति नरहेको शंकर पोखरेलको स्पष्टोक्ति
👤 सनस्टार संवाददाता | 📅 2026-09-22

काठमाडौं, ६ असोज २०८३। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुनै असहमति नरहेको स्पष्ट पारेका छन्।
केन्द्रीय कमिटीको बैठकमा मन्तव्य राख्दै महासचिव पोखरेलले आफू अध्यक्ष ओलीसँग सँगसँगै बसेर काम गरिरहेको अवस्थामा अध्यक्षमाथि अभियोग लगाउने काम आफूबाट नहुने बताएका हुन्।
बैठकमा पोखरेलले पार्टीभित्र असमझदारी र विग्रह आउने गरी आफूले विशेष महाधिवेशन आयोजनाको नेतृत्व नगर्ने स्पष्ट पारे। साथै, अध्यक्ष ओलीको असमतिमा आफू पार्टी अध्यक्ष नबन्ने धारणा पनि उनले राखे।
उनको मन्तव्यका तीन महत्वपूर्ण बुँदा यसप्रकार छन्—
१. अध्यक्षमाथि अभियोग लगाउने काम गर्दिनँ
‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन।’
२. विग्रह आउने गरी विशेष महाधिवेशनको नेतृत्व गर्दिनँ
‘पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ।’
३. अध्यक्षको असमतिमा अध्यक्ष बन्दिनँ
‘तपाईंको असमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ।’
पोखरेलले अध्यक्ष ओलीसँग आफ्नो असहमति नरहेको दोहोर्याउँदै आफूबाट त्यस्तो अनुभूति भएको भए आगामी दिनदेखि त्यस्तो अवस्था नरहने विश्वाससमेत व्यक्त गरे।
उनले भने, ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदैछैन, तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन। यो विश्वास दिलाउन चाहन्छु।’
पोखरेलको उक्त अभिव्यक्तिलाई एमालेभित्र जारी नेतृत्व, पार्टी पुनर्गठन तथा विशेष महाधिवेशनसम्बन्धी बहसका क्रममा आएको स्पष्ट धारणाका रूपमा हेरिएको छ।