देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न प्रशासनको निर्देशन पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै मर्यादित रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो। सूचनामा मादक पदार्थ सेवन, जबर्जस्ती चन्दा संकलन, धम्की, होहल्ला र सार्वजनिक आवागमनमा अवरोध नगर्न भनिएको छ। पटाका, आतसबाजी तथा विस्फोटक पदार्थ प्रयोग र ध्वनि प्रदूषण हुने गरी माइक बजाउनसमेत रोक लगाइएको छ। अस्पताल, विद्यालय तथा संवेदनशील क्षेत्रमा सावधानी अपनाउन, निजी घर तथा प्रतिष्ठानमा कार्यक्रम गर्दा अनुमति लिन र बालबालिकालाई अभिभावकको निगरानीमा राख्न प्रशासनले निर्देशन दिएको छ। निर्देशन उल्लंघन गरी सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुर्‍याएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।