अविरल वर्षाले मनाङको तालगाउँ डुब्यो
👤 सनस्टार संवाददाता |

अविरल वर्षाले मनाङको तालगाउँ डुब्यो
पोखरा ।
लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ । २०७८ सालमा बाढीले बगेको उक्त ताल केही समयअघि मात्रै पुनः निर्माण सकिएको थियो । अहिले फेरि डुबानमा परेको स्थानीय अगुवा राजन गुरुङले जानकारी दिए ।
नासों गाउँपालिका १ स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थुनिएर जलमग्न भएको हो । अहिले स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ । बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक मार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका गुरुङले बताए ।
गाउँ चारैतिरबाट घेरिँदा स्थानीयवासी गाउँमै थुनिएका छन् । तालगाउँबासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसिरहेका छन् । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै जिल्ला पूर्ण रूपमा टेलिफोन सम्पर्कविहीन बनेको छ ।
कसैको पनि सम्पर्क नभएकोले ताल क्षेत्रभन्दा माथिको वास्तविक अवस्थाबारे जानकारी लिन थप कठिनाइ भइरहेको बताइएको छ । यसैबिच, मर्स्याङ्दी नदीको बहाव अझै बढ्ने क्रममा रहेकाले र नदीको प्राकृतिक बहावमा अवरोध देखिएकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।