**२७ असोज , २०८३** **पोखरा**। प्रकोप भन्नाले पृथ्वीको प्राकृतिक प्रक्रियाका कारण सिर्जना हुने र मानव जीवन, धनजन तथा सामाजिक-आर्थिक पक्षमा ठूलो क्षति पुर्‍याउने आकस्मिक घटनाहरूलाई बुझाउँछ। नेपाल आफ्नो भौगोलिक संवेदनशीलताका कारण विभिन्न प्रकारका प्राकृतिक विपद्हरूको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तन, वन फँडानी, र अव्यवस्थित मानव गतिविधिको कारणले प्राकृतिक प्रकोपको दर र यसको असर दिनानुदिन बढ्दै गइरहेको छ। प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज अक्टोबर १३ मा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मनाइने यस दिवसले बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण, पूर्वतयारी र सुरक्षित समुदाय निर्माणमा जोड दिँदै आएको छ। नेपाल भौगोलिक बनावट र जलवायुजन्य जोखिमका कारण विभिन्न प्रकोपको उच्च जोखिममा रहेको छ। बाढी, पहिरो, भूकम्प तथा अन्य प्राकृतिक घटनाले जनधनको क्षति गर्नुका साथै जनजीवन, पूर्वाधार र आर्थिक गतिविधिमा समेत गम्भीर असर पार्दै आएका छन्। विपद्को जोखिम कम गर्न पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन, जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित पूर्वाधार निर्माण, उद्धार तथा राहतको तयारी र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ। प्रकोपपछि उद्धार र राहतमा मात्र केन्द्रित नभई विपद् आउनुअघि नै जोखिम पहिचान र न्यूनीकरणका उपाय अपनाउन सके ठूलो क्षति रोक्न सकिन्छ। यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक छ। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसले प्रकोपको जोखिम बुझ्न, पूर्वतयारीलाई प्राथमिकता दिन र प्रकोप उत्थानसिल समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।