बजार भाउ ६.३४ प्रतिशतले बढ्यो, २२ महिनायताकै उच्च
👤 सनस्टार संवाददाता |

**३० असोज २०८३**
**पोखरा** । नेपालमा मूल्यवृद्धि दर निरन्तर उकालो लाग्दै गत भदौमा ६.३४ प्रतिशत पुगेको छ। यो पछिल्लो २२ महिनायताकै उच्च मूल्यवृद्धि हो। गत वर्षको सोही अवधिमा मूल्यवृद्धि दर १.८७ प्रतिशत रहेकोमा यस वर्ष ४.४७ प्रतिशत विन्दुले बढेको हो।
भारतलगायत तेस्रो मुलुकमा वस्तु तथा सेवाको मूल्य बढ्नु, अमेरिकी डलरको भाउ मजबुत हुनु, पश्चिम एसियामा जारी द्वन्द्वका कारण निर्माण सामग्री महँगिनु तथा वर्षा र बाढीपहिरोले आपूर्ति व्यवस्थापन प्रणाली प्रभावित हुनु मूल्यवृद्धिका प्रमुख कारण रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
**मूल्यवृद्धि निरन्तर उकालोमा**
आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक विन्दुगत मूल्यवृद्धि दर ६.०५ प्रतिशत रहेको थियो। त्यसपछि निरन्तर घट्दै कात्तिक २०८२ मा १.११ प्रतिशतमा झरेको मूल्यवृद्धि दर पुनः बढ्न थालेको हो। यस क्रममा गत भदौमा मूल्यवृद्धि दर ६.३४ प्रतिशत पुगेको छ।
नेपालको मूल्यवृद्धिमा भारतको प्रभाव प्रत्यक्ष देखिने गरेको छ। नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारमा भारतको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेकाले भारतीय बजारमा हुने मूल्यवृद्धिले नेपाली बजारलाई समेत प्रभावित पार्ने गरेको छ। पछिल्लो समय भारतमा पनि मूल्यवृद्धि निरन्तर बढिरहेको छ।
**खाद्य पदार्थमा उच्च मूल्यवृद्धि**
खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ७.५४ प्रतिशत पुगेको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत मूल्यवृद्धि देखिएको छ।
यसैबीच, पछिल्लो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। एकातिर मूल्यवृद्धिको दबाब बढिरहेको अवस्थामा अर्कोतर्फ रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिको अवस्था पनि अर्थतन्त्रका महत्त्वपूर्ण सूचकका रूपमा देखिएका छन्।