**आश्विन १२, २०८३** लन्डन — बेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको षड्यन्त्रमा अहिले अनुसन्धान चलिरहेको छ । इरानको सम्भावित संलग्नतालाई मुख्य आधार मानेर अनुसन्धान चलिरहेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । बेलायती आतंकवाद नियन्‍त्रण प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यस घटनामा ५ जना पक्राउ परेका छन् । आइतबार मध्यरात एयरबेसतर्फ शंकास्पद रूपमा अगाडि बढिरहेका तीनवटा सेतो भ्यानहरू देखिएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । त्यसलगत्तै प्रहरीले अनुसन्धानको नेतृत्व गर्दै विष्फोटक पदार्थसम्बन्धी कसुर र पछि ‘आतङ्ककारी कार्यको तयारी’ गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको हो। सोमबार पनि उनीहरू प्रहरी हिरासतमा नै छन्। प्रहरीले खतराको प्रकृतिबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन । आइतबार साँझ नै खतरा टरिसकेको र घटनास्थलमा बम डिस्पोजल विज्ञहरू परिचालन गरिएको जनाएको छ। एयरबेसनजिकैको वेल्फोर्ड गाउँका एक स्थानीय बासिन्दाले आइतबार राति बाटो छेकेर बसेका तीनवटा सेतो भ्यान र मुखमा मास्क लगाएका केही व्यक्तिहरू देखेर प्रहरीलाई खबर गरेको बताएकी छिन् । तर, बीबीसीसँग कुरा गर्दै उनले प्रहरीले खतरालाई गम्भीर रूपमा लिन ढिलाइ गरेको आरोप लगाएकी छिन्। यता, बेलायती रक्षा मन्त्री वेस स्ट्रिटिङले भने ती महिलासँग घटनाको ‘आंशिक तस्बिर’ मात्रै रहेको दाबी गरेका छन् । उनले खबर दिनुअघि नै प्रहरीले उक्त परिस्थितिको बारेमा जानकारी राखिसकेको संकेत स्ट्रिटिङले गरेका छन्। सुरक्षा सतर्कता अपनाउँदै आइतबार बिहानै सो गाउँबाट करिब ८५ घरपरिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको थियो । सोमबार पनि घटनास्थललाई प्रहरीले घेरेर राखेको छ । **के भन्छन् अमेरिकी राष्ट्रपति ट्रम्प?** बेलायती अधिकारीहरूको दाँजोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनाबारे धेरै जानकारी सार्वजनिक गरेका छन् । अमेरिका र बेलायतले शङ्कास्पद व्यक्तिहरूलाई केही समयदेखि नै निगरानीमा राखेको उनले बताएका छन्। सिकागो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले हाम्रो सैन्य अड्डूमा ठूलो क्षति पुर्‍याउने योजना बनाएका थिए, बेलायतसँगको सहकार्यले यो काम सफल भयो। हामीले उनीहरूलाई लामो समयदेखि निगरानीमा राखेका थियौं र अहिले नियन्त्रणमा लिएका छौं।’ पत्रकारहरूले शंकास्पद व्यक्तिहरूको इरानसँग सम्बन्ध छ वा छैन भनेर सोधेको प्रश्नमा ट्रम्पले टाउको हल्लाउँदै भने, ‘हामी उनीहरूबारे सबै कुरा जान्दछौं ।’ उनले थपे, ‘तपाईंहरूले यस बारेमा छिट्टै थाहा पाउनु हुनेछ। हामीले उनीहरूलाई समातेका छौं ।’ **इरानविरुद्ध प्रयोग भएको थियो आरएएफ फेयरफोर्ड** बेलायतले गत मार्च महिनामा अमेरिकालाई ‘विशेष रक्षात्मक कारबाही’ गर्नका लागि आरएएफ फेयरफोर्ड एयरबेस प्रयोग गर्न अनुमति दिएको थियो । इरानविरुद्ध प्रयोग भएको यो बेलायती मुलभूमीको एकमात्रै एयरबेस हो । यहाँ अमेरिकी बम वर्ष विमानहरु आउने–जाने गर्छन् । इरानका क्षेप्यास्त्रहरूलाई नस्ट गर्नका लागि ती विमानहरु प्रयोग हुने गरेको बेलायतले जनाएको छ । स्थानीय बासिन्दाहरूका अनुसार यो एयरबेस र आसपासका इलाकामा पहिले शानित थियो । तर, अमेरिकी सैन्य कारबाही सुरु भएयता यहाँ सुरक्षा सतर्कता व्यापक वृद्धि भएको छ । **घटनाको पछाडि कसको हात? ** घटनाको यथार्थ स्रोत अझै सार्वजनिक भइसकेको छैन । यसअघि नै तेहरानले बेलायतलाई उसका एयरवेसहरु इरानविरुद्धको युद्धका लागि अमेरिकालाई प्रयोग गर्न नदिन चेतावनी दिएको थियो । बेलायती सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले यस अनुसन्धानमा इरानको सम्भावित संलग्नतालाई मुख्य आधार बनाएर अनुसन्धान अघि बढाएका छन् । यसअघि गत मार्च महिनामा इरानी विदेशमन्त्री अब्बास अराग्चीले बेलायती प्रधानमन्त्री किर स्टारमरमाथि इरानविरुद्धको आक्रमणका लागि बेसहरू प्रयोग गर्न दिएर ‘बेलायतीहरूको जीवन खतरामा पारेको’ आरोप लगाएका थिए । बेलायतले पनि आफ्नो देशमा इरान र रसियाले छद्‍म समूहहरु प्रयोग गरेर आतंकवादी गतिविधि गर्ने प्रयास गरेको आरोप लगाउँदै आएको छ । तर, रक्षा मन्त्री स्ट्रिटिङले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले अनुसन्धान चलिरहेको बताएका छन् । उनले अनुसन्धानको निष्कर्ष नआएसम्म कुनै पनि अनुमान लगाउनु हतारो हुने बताएका छन् ।