देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा
👤 सनस्टार संवाददाता | 📅 2026-09-26

**१० असोज २०८३**
पोखरा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले शनिबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने तथा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमतीका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ।
यीमध्ये गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
शनिबार राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बागमती प्रदेशमा वर्षाको सम्भावना रहेको छ। रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
वर्षासँगै केही स्थानमा हावाहुरी र चट्याङको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।