समाचार

आन्दोलनकारी भानुभक्तले दिए खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी ।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-25
आन्दोलनकारी  भानुभक्तले  दिए  खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी ।
विद्यार्थी आन्दोलनदेखि कांग्रेस संगठनसम्म : महाधिवेशन प्रतिनिधिमा भानुभक्त ढकालको उम्मेद्वारी पोखरा, शिबराज सुवेदी । नेपाली कांग्रेस कास्कीका जिल्ला सचिव भानुभक्त ढकालले १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन्। विद्यार्थी आन्दोलनदेखि पार्टी संगठन निर्माणसम्मको आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिँदै उनले महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा अघि बढाएका हुन्। ढकालको राजनीतिक सक्रियता नेपाल विद्यार्थी संघबाट शुरू भएको हो। २०५८ सालमा क्याम्पस प्रवेशसँगै विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनका विभिन्न गतिविधिमा सहभागी हुँदै कांग्रेसको जिल्ला तहको नेतृत्वसम्म पुगेका छन्। अहिले उनी नेपाली कांग्रेस कास्कीको जिल्ला सचिवको जिम्मेवारीमा छन्। उनको राजनीतिक पृष्ठभूमिमा लोकतान्त्रिक आन्दोलनको पारिवारिक विरासतसमेत जोडिएको छ। उनी लोकतान्त्रिक आन्दोलनका क्रममा जेल तथा राजद्रोहको मुद्दासमेत भोगेका कमलमणि ढकालका सहोदर भाइ हुन्। विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक व्यवस्था परिवर्तनको संघर्षसम्मको उक्त पारिवारिक पृष्ठभूमिले भानुभक्तको राजनीतिक यात्रामा पनि प्रभाव पारेको उनको उम्मेद्वारी घोषणामा उल्लेख छ। ढकालले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग विद्यार्थी राजनीतिदेखि विभिन्न राजनीतिक अभियानमा सहकार्य गर्दै आएका छन्। पार्टीभित्रको संगठन निर्माण र राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले आगामी महाधिवेशनलाई पनि आफ्नो राजनीतिक यात्राको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्। उनको उम्मेद्वारीको मुख्य आधार भने पदभन्दा विचार, सेवा र संघर्षको निरन्तरतामा केन्द्रित छ। पार्टीभित्र देखिएका विकृति र विसंगतिविरुद्ध युवा पुस्ताको हस्तक्षेप आवश्यक रहेको बताउँदै उनले कांग्रेसको नवनिर्माण, देशको समृद्धि र नयाँ राजनीतिक संस्कारलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन्। ढकालले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तुत गर्दा विद्यार्थी आन्दोलन, संगठन निर्माण र लोकतान्त्रिक संघर्षको अनुभवलाई पार्टीको आगामी राजनीतिक दिशासँग जोड्ने प्रयास गरेका छन्। लामो समय संगठनमा काम गरेको अनुभवलाई केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्वमार्फत थप प्रभावकारी बनाउने उनको दाबी छ। कास्की-१ मा खुलातर्फ हुने महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा ढकालको उम्मेदवारीसँगै पार्टी संगठनमा लामो समय सक्रिय युवा पुस्ताको प्रतिनिधित्वको विषय पनि जोडिएको छ। क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो राजनीतिक योगदान, संगठनात्मक भूमिका र आगामी राजनीतिक दृष्टिकोणका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने ढकालको विश्वास छ।