एमाले कार्यदलका दुई प्रतिवेदन एकीकृत गर्न तीन नेतालाई जिम्मा
👤 सनस्टार संवाददाता |

एमाले कार्यदलका दुई प्रतिवेदन एकीकृत गर्न तीन नेतालाई जिम्मा
काठमाडौँ। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आन्तरिक छलफलमा प्रस्तुत दुई फरक प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाउने जिम्मा तीन शीर्ष नेताहरूलाई दिएको छ। काभ्रेपलाञ्चोकको बल्थली रिसोर्टमा शनिबारदेखि सोमबारसम्म चलेको आवासीय बैठकपछि संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल सम्मिलित तीन सदस्यीय सम्पादन टोली गठन गरिएको हो।
एमाले सचिव राजन भट्टराईका अनुसार बैठकमा उठेका विषयहरूलाई समेटेर दुवै प्रतिवेदनलाई एकरूपता दिँदै अन्तिम मस्यौदा तयार पार्न उक्त टोलीलाई जिम्मेवारी दिइएको छ। त्यसपछि कार्यदलको आगामी बैठक असोज १ गतेसम्मका लागि स्थगित भएको छ।
कार्यदलभित्र दुई फरक प्रतिवेदनलाई लिएर गम्भीर मतभेद देखिएको छ। महासचिव पोखरेलद्वारा तयार पारिएको ६५ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ। साथै पार्टी निकासका लागि विशेष महाधिवेशन वा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउनुपर्ने विषय पनि महासचिवको प्रतिवेदनमा समेटिएको छ। उक्त प्रस्तावको पक्षमा उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङसहित कार्यदलका बहुसङ्ख्यक सदस्यहरू उभिएका छन्।
उता, संयोजक बादलले पेस गरेको अर्को प्रतिवेदनमा भने अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने अडान राखिएको छ। उनले उमेर हद र दुई कार्यकालको व्यवस्थाको बचाउ गर्दै नेतृत्वको निरन्तरताको पक्ष लिएका छन्। कार्यदलमा महासचिवको प्रस्तावमा बहुमत देखिएपछि अध्यक्ष ओली दबाबमा परेका छन्।
स्रोतका अनुसार बैठक चलिरहेकै बेला अध्यक्ष ओलीले संयोजक थापालाई टेलिफोन गरी विशेष महाधिवेशन तथा प्रतिनिधि परिषद्को विषयमा कुनै पनि हालतमा सहमति नगर्न र दबाब आए बैठक नै बहिष्कार गरेर हिँड्न निर्देशनसमेत दिएका थिए। सचिवालय र केन्द्रीय कमिटीमै समीकरण प्रतिकूल बन्दै गएको अवस्थामा विशेष महाधिवेशनमा जाँदा पकड थप कमजोर हुने विश्लेषण ओली पक्षको छ।
गत जेठ १० गतेको सचिवालय बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्ययोजना बनाउन उपाध्यक्ष बादलको संयोजकत्व र महासचिव पोखरेल सदस्य–सचिव रहने गरी १५ सदस्यीय कार्यदल गठन गरेको थियो। दुई प्रतिवेदनबीचको अन्तरविरोध बल्थली बैठकबाट पनि नटुङ्गिएपछि अब तीन शीर्ष नेताको सम्पादन टोलीले असोज १ सम्म साझा मस्यौदा तयार पार्ने प्रयास गर्नेछ। See less