कास्कीमा भारी वर्षा र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
👤 सनस्टार संवाददाता |

कास्कीमा भारी वर्षा र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
पोखरा, कात्तिक ११ गते।
कास्की जिल्लामा भारी वर्षा तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री आँधी ‘अर्नब’को अवशेष उत्तरतर्फ सर्ने क्रममा कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म हिमाली क्षेत्रमा बाक्लो हिउँ पर्ने तथा कास्की र आसपासका क्षेत्रमा मेघगर्जनसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अविरल वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने, जलसतह उकालो लाग्ने, आकस्मिक बाढी आउने, भेल आउन सक्ने तथा नदी र खोलाको आसपासका क्षेत्रमा पहिरो जाने जोखिम रहेको जनाएको छ।
प्रशासनले जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, डुङ्गा चलाउने तथा बालुवा र गिट्टी निकाल्ने काम नगर्न अनुरोध गरेको छ। बाढी आएका बेला नदी किनारमा गएका सामग्री लिन नजान र बालबालिकालाई जोखिमयुक्त क्षेत्रमा जान नदिन पनि आग्रह गरिएको छ।
त्यस्तै, नदी तथा खोला किनार र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव निरन्तर निगरानी गर्न तथा जलसतह बढेमा तुरुन्त सुरक्षित स्थानमा सर्न प्रशासनले अनुरोध गरेको छ। सवारी चालकलाई नदी तथा खोला किनारका सडक र बगर क्षेत्रमा सवारीसाधन पार्किङ नगर्न र अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न पनि भनिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पदयात्रामा ननिस्कन तथा यात्रामा रहेका पर्यटकलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।
मौसम पूर्वानुमानसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन र विपद्को अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालय वा निःशुल्क आपत्कालीन नम्बर १०० तथा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर ११३३ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै नागरिकलाई सतर्क र जिम्मेवार बन्न आग्रह गरेको छ।