मुख्य समाचार

एमाले केन्द्रीय समिति बैठक : ओली र पोखरेलबीचको विवाद अन्त्य

👤 सनस्टार संवाददाता  |  📅 2026-09-23
एमाले केन्द्रीय समिति बैठक : ओली र पोखरेलबीचको विवाद अन्त्य
एमाले केन्द्रीय समिति बैठक : ओली र पोखरेलबीचको विवाद अन्त्य २०८३ असोज ७ ,काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको विवाद तत्काललाई अन्त्य भएको छ। फागुन २१ को निर्वाचनमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेताबीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको छ। महासचिव पोखरेलले सञ्चालन गर्नुपर्ने केन्द्रीय समितिको पहिलो दिनको बैठक अध्यक्ष ओली आफैंले चलाएका थिए। बैठकपछि महासचिव पोखरेललगायत नेताहरू सोमबार राति ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेपछि परिस्थितिमा ‘टिस्ट’ आएको हो। अध्यक्ष ओली र महासचिव पोखरेलबीच झन्डै तीन घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। बेलुकी ७ बजे पुगेका महासचिव पोखरेल र ओलीबीच राति १०:३० सम्म कुराकानी भएको थियो। केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकको सुरुवातमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलले सम्बोधन गरेका थिए। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले सम्बोधनका क्रममा पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने बताएका थिए। महासचिव पोखरेलले आफूले अध्यक्ष केपी ओलीलाई हटाउन नखोजेको स्पष्ट पारेका थिए। उनले ओलीलाई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको बताएका थिए। अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने महासचिव पोखरेलले बताए। उनले भनेका थिए, ‘अध्यक्षले मैले हटाउने कुरा बुझ्नु भएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबै जना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौं। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो, दूरी बढ्यो।’ दोस्रो दिनको बैठक पनि अध्यक्ष ओलीले नै सञ्चालन गरे। उनले सुरुवातमा पदाधिकारीहरूलाई बोल्न समय दिएका थिए। उनले एक जना पदाधिकारीलाई १५ मिनेट समय तोके, तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले मात्र कुरा राखेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवै पुनर्गठनका पक्षधर हुन्। एमाले सचिव महेश बस्नेतले पार्टीभित्र कुनै पनि प्रकारको विग्रह वा विद्रोहको अवस्था नरहेको बताए। उनले पार्टी अध्यक्ष ओलीकै नेतृत्वमा पूर्ण रूपमा एकताबद्ध रहेको दाबी गरे। बैठकपछि पत्रकारसँग बोल्दै बस्नेतले पार्टी नेतृत्व परिवर्तन गर्ने सोच न त नेताहरूको मनमा रहेको, न कार्यकर्ता र जनताको चाहना भएको टिप्पणी गरे। बैठकमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आफूहरू कुनै विद्रोहको पक्षमा नरहेको बताएको पनि सचिव बस्नेतले बताए। उनले भने, ‘महासचिवले अध्यक्षको चाहनाभन्दा बाहिर गएर आफूले नेतृत्व दाबी नगर्ने र विशेष महाधिवेशन बोलाउने कुनै सोच नरहेको स्पष्ट पार्नुभएको छ।’ उपाध्यक्ष पौडेलले पनि पार्टीका राम्रा कामहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन बलियो र सुसंगठित नेतृत्व आवश्यक रहेको धारणा राखेको सचिव बस्नेतले जानकारी दिए। बैठक सञ्चालनलाई लिएर कर्णबहादुर थापा, ठाकुर गैरे, कृष्णभक्त पोखरेललगायतका केही नेताहरूले उठाएका विषयहरू विधि र व्यवस्थापनसँग मात्र सम्बन्धित रहेको उनको दाबी छ। सचिव बस्नेतले समय व्यवस्थापनका लागि अध्यक्षले महासचिव वा अन्य पदाधिकारीलाई बैठक सञ्चालनको जिम्मा दिनु सामान्य प्रक्रिया भएको बताए। अराजक, अवसरवादी र पपुलिस्ट शक्तिहरूले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरी एमाले र यसको नेतृत्वविरुद्ध ‘डिजिटल वार’ छेडेको उनको आरोप छ। ‘राष्ट्रियता, विकास र समृद्धिका पक्षमा हामीले गरेका राम्रा कामहरू जनतासम्म सही ढंगले सम्प्रेषण हुन सकेनन्,’ बस्नेतले भने, ‘हाम्रो पार्टी डिजिटल रूपमा उत्तिकै मैत्री हुन नसक्दा मिडियाले बनाइदिएको भाष्य र क्याप्सनका भरमा जनतामा भ्रम सिर्जना भएको हो। जनताले ओलीलाई नचाहेका होइनन्।’ यस्ता भ्रमहरूलाई चिर्न अब पार्टीले डिजिटल भोलेन्टियर परिचालन गर्ने र प्रविधिमैत्री अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उनले एमाले एक ढिक्का भएर अगाडि बढ्ने बताए। एमालेका नेता कृष्णगोपाल श्रेष्ठले आफू कसैको पेलानमा नपर्ने नेता भएको बताए। उनले अध्यक्ष केपी ओलीबारे आफूले दिएको विगतको अभिव्यक्तिको सान्दर्भिकता सकिएको टिप्पणी गरे। नेता श्रेष्ठको ‘केपी ओली इज केपी ओली, फुटबलको पेले हो जस्तै हो’ भन्ने अभिव्यक्ति भाइरल भएको थियो। उनले भने, ‘कसैले पेले भनेर सोचे पनि म पेलिने खालको मान्छे होइन। मैले बोलेका कुराको २०७८ देखि २०८२ भदौ २२ गतेसम्म त्यसको सान्दर्भिकता रह्यो। भदौ २३ देखि २४ हुँदै आजसम्म आउँदा अब त्यसको सान्दर्भिकता सकियो।’ उनले आफूले ओलीलाई पेलेसँग तुलना गर्दै दिएको अभिव्यक्ति खारेज गरिसकेको बताए। श्रेष्ठले पार्टीलाई एकताबद्ध र लोकप्रिय बनाउने भन्नेबारेमा बैठक सौहार्दपूर्ण रूपमा चलिरहेको दाबी गरे। उनले हिजोको बैठकमा आफ्नो कुरा राखेर हिँडेको भए तापनि बैठक बहिष्कार नगरेको जिकिर गरे। उनले पार्टी नसच्चिए सक्किनका लागि तयार हुनुपर्ने समेत बताए। उनले थपे, ‘ग्राउन्डलाई बुझ्न सकेनौं भने, आफूलाई सच्याउन सकेनौं भने हामी सक्किनुपर्छ।’ उनले गत वर्षको भदौ २३–२४ को जेन—जी आन्दोलन प्रतिगमन नभई क्रान्ति नै भएको बताए। ‘हाम्रो नेतृत्व सरकारमा हुँदा यति ठूलो आन्दोलन भयो, त्यो हामीले किन सूचना लिन सकेनौं ? ,’ उनले भने, ‘त्यो हाम्रो कमजोरी होइन ? नेकपा जोगाउन नसक्नु हाम्रो कमजोरी होइन ?’ ११८ जनाले राखे धारणा केन्द्रीय सदस्य इन्द्रप्रसाद भण्डारीले पार्टी पुनर्गठन कार्यदलका काममाथि प्रश्न उठाउँदै यसले कार्यकर्तालाई झन् विभाजित गरेको बताए। उनले कार्यकर्ताहरूलाई विभाजित हुने अवस्था सिर्जना गरेकोमा सचिवालय कि कार्यदलले जिम्मेवारी लिने भन्दै प्रश्न गरे। ‘एउटै काम दोहोर्‍याउँदै, कार्यदलका नाममा नेताहरू तलतल पुगेर सुझाव संकलन गर्ने कुरा नै सरासर गलत थियो,’ भण्डारीले बैठकमा अध्यक्ष ओलीको पक्षमा बोल्दै भने, ‘पुनर्गठन भनेको मूल नेतृत्व फेर्नु हो भन्ने भाष्य बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो।’ पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा १ सय १८ जनाले बोलेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। प्रत्येक केन्द्रीय सदस्यका लागि ३÷३ मिनेटको समय निर्धारण गरिएको थियो। बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूमा अइन्द्रसुन्दर नेम्वाङ, अग्नि खरेल, अच्युत मैनाली, डा. अजयक्रान्ति शाक्य, अजयकुमार गुप्ता, अखिलतार ओझा, अमन मास्के, अमर यादव, अशोक ब्याञ्जु, अस्मिता थापा, आनन्द पोखरेल, आरती भण्डारी, आरसी लामिछाने, आशाकुमारी विक, आशारत्न बज्राचार्य, इन्दिरा सञ्जेल, एलिसा गौतम, इन्द्र भण्डारी, उपेन्द्र शाहलगायत थिए। बुधबार केन्द्रीय सदस्यले बोलिसकेपछि यो बैठक समापन हुनेछ।