कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि नेकपाले गठन गर्यो वार्ता समिति ।
👤 सनस्टार संवाददाता | 📅 2026-09-22

काठमाडौं । कम्युनिष्ट पार्टीहरूबीच एकता तथा सहकार्यको पहल अघि बढाउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले नेता देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।
समितिमा पार्टीका प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेका छन्।
बैठकले विभिन्न कम्युनिष्ट पार्टी तथा समूहसँग संवाद अघि बढाउँदै सम्भावित एकता, सहकार्य र आपसी समझदारीका विषयमा छलफल गर्ने जिम्मेवारी वार्ता समितिलाई दिएको छ।
नेकपाले कम्युनिष्ट आन्दोलनमा रहेका विभिन्न शक्ति तथा समूहसँग संवाद र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले वार्ता प्रक्रिया अघि बढाउन लागेको हो।
वार्ता समितिले सम्बन्धित कम्युनिष्ट पार्टी तथा समूहसँग छलफल गरी सम्भावित सहकार्य र एकताका आधारबारे आवश्यक पहल गर्ने बताइएको छ।