कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने इतर पक्षको निर्णय
👤 सनस्टार संवाददाता |

कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने इतर पक्षको निर्णय
काठमाडौँ ।
नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन आउँदो मंसिर २१, २२ र २३ गते गर्ने भएको छ।
शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिर तेस्रो साता महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
महाधिवेशनको पूर्वतयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने जानकारी डा. महतले दिए। एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
हालैको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयका तर्फबाट गर्नुपर्ने तयारीहरू अघि बढिरहेको उनले बताए। सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन गराएको अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिने रणनीति बनाइएको छ।
नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ। छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने, ‘असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुन्छ र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ। हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ तर सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आयो। त्यसैले अहिले आपत्कालीन मोडमा तयारी अघि बढाइएको छ।’
निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू एक-दुई दिनभित्रै जिल्लाहरूमा पुग्ने महतले बताए। वर्षाका कारण कुनै वडामा असोज १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय लिन सक्नेछन्। त्यस्ता वडाहरूमा स्थानीय परिस्थिति हेरेर असोज १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने जानकारी उनले दिए।