कांग्रेसमा एकसाथ १३ हजारभन्दा बढी युवा नेतृत्व तहमा आउँदै महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एकतिहाइ हुने व्यवस्था, कम्तीमा ५४ हजार २ सय ८५ महिला नेतृत्व तहमा एकैसाथ आउने काठमाडौं — कांग्रेसको १५ औं महाधिवेशनबाट पहिलोपल्ट १३ हजारभन्दा बढी युवाले एकैपटक नेतृत्व तहमा प्रवेश पाउने भएका छन् । जेन–जी आन्दोलनपछि गत पुसमा सम्पन्न विशेष महाधिवेशनले विधान संशोधन गर्दै वडादेखि जिल्लासम्मको पाँच तहका कार्यसमितिमा ३० वर्षमुनिका युवालाई प्रतिनिधित्व गर्ने सुनिश्चित गरेकाले ठूलो संख्यामा युवा नेतृत्व तहमा आउने भएका हुन् । प्रदेश र केन्द्रीय कार्यसमितिमा ३५ वर्षका युवाको प्रतिनिधित्व हुने प्रबन्ध गरिएको छ । पार्टीको १५ औं महाधिवेशनको प्रक्रिया ३ असोजबाट सुरु हुँदै छ । ३–४ असोजमा वडा अधिवेशन सुरु गरेपछि पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन १० असोजसम्म सकेर १६–१९ मा केन्द्रीय महाधिवेशन हुने भएको छ । जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी छ । केन्द्रीय महाधिवेशनका लागि काठमाडौंका खुलामञ्च बुकिङ गरिसकिएको छ । नयाँ विधानअनुसार केन्द्रीय महाधिवेशनमा सहभागी हुने करिब ६ हजार प्रतिनिधिमध्ये ३५ वर्षमुनिका ३ सय ३० जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । पार्टी संरचना पहिल्यैदेखि समावेशी भए पनि युवाको सुनिश्चितता गर्ने व्यवस्था भने पहिलोपल्ट राखिएको हो । पार्टीका सात तहका कार्यसमितिमा एकैपटक ठूलो संख्यामा नयाँ पुस्ताको उपस्थिति हुने भएको हो । महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एकतिहाइ हुने व्यवस्था गरिएको छ । यसले गर्दा कम्तीमा ५४ हजार २ सय ८५ महिला नेतृत्व तहमा एकैसाथ आउनेछन् ।