**१५ असोज ,२०८३** पोखरा । वर्षाका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक पुनः सञ्चालनमा आएको छ। गुल्मीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि बुधबार साँझदेखि सडकमा यातायात सञ्चालनमा आएको हो। कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो, लेदो र ठूला ढुङ्गा हटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा विभिन्न स्थानमा पहिरो खसेको थियो। मुख्य सडकमा पहिरो हटाएपछि पालिकाभित्र अवरुद्ध भएका शाखा सडकसमेत सञ्चालनमा आएका छन्। सडक अवरुद्ध हुँदा तम्घास, बागलुङ, पाल्पा, बुटवल तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए। लामो समय सडक बन्द हुँदा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको थियो। सडक सञ्चालनमा आएसँगै रोकिएका सार्वजनिक तथा निजी सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।