कास्की–१ को सभापतिमा नरेन्द्र थापा ‘नरेन’को उम्मेदवारी घोषणा
👤 सनस्टार संवाददाता | 📅 2026-09-25

कास्की–१ को सभापतिमा नरेन्द्र थापा ‘नरेन’को उम्मेदवारी घोषणा
२०८३ असोज ९
पोखरा ।
नेपाली कांग्रेसका नेता नरेन्द्र थापा ‘नरेन’ले नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा क्षेत्र नं. १ का पार्टी सदस्य, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै थापाले कठिन परिस्थितिमा पनि पार्टीको वैधानिक अधिवेशन प्रक्रियामा सहभागी सबै कांग्रेसजनलाई धन्यवाद व्यक्त गरे। उनले १५औँ महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धा र भविष्यका लागि महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे।
उनले नेपाली कांग्रेसले लोकतन्त्रको स्थापना, पुनःस्थापना र संवर्द्धनमा खेलेको भूमिकालाई स्मरण गर्दै पार्टीको गौरवपूर्ण इतिहासलाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे। साथै, असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
थापाले आफू लामो समयदेखि नेपाली कांग्रेसको संगठन, लोकतन्त्र र जनताको सेवामा सक्रिय रहँदै आएको बताएका छन्। नेपाल तरुण दलका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको, हाल जिल्ला सचिवको जिम्मेवारीमा रहेर युवाहरूलाई पार्टीसँग जोड्ने अभियानमा सक्रिय रहेको तथा महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण प्रक्रियामा सहभागी भएको उनले उल्लेख गरे।
त्यस्तै, स्थानीय तहमा जनप्रतिनिधिका रूपमा जनताको सुख–दुःखमा काम गरेको र विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गरेको अनुभवलाई पनि उनले आफ्नो राजनीतिक यात्राको आधारका रूपमा प्रस्तुत गरेका छन्।
पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्यांकन, युवा पुस्ताको सशक्त सहभागिता र अग्रजहरूको सम्मानलाई प्राथमिकतामा राख्दै कास्की कांग्रेसलाई थप गतिशील, एकताबद्ध र भरोसायोग्य बनाउन आफूले क्षेत्र नं. १ को सभापतिमा उम्मेदवारी दिएको थापाको भनाइ छ।
“बोल्नेभन्दा काम गरेर देखाउने मेरो कार्यशैली हो,” थापाले भनेका छन्, “कास्की क्षेत्र नं. १ का प्रत्येक साथीहरूको आत्मसम्मान र पार्टीको गरिमा उच्च राख्ने मेरो दृढ संकल्प छ।”
उनले क्षेत्रीय प्रतिनिधिहरूबाट अमूल्य मत, विश्वास र आशीर्वाद प्राप्त गरी पार्टीको सेवा गर्ने अवसर पाउने अपेक्षा व्यक्त गरेका छन्।