गण्डकी प्रज्ञा–प्रतिष्ठानको वार्षिक कार्ययोजना पारित, लोपोन्मुख संस्कृति र मातृभाषा संरक्षणमा जोड ‎ ‎पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्ययोजना पारित गरेको छ । ‎गण्डकी प्रदेशका भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, संवर्द्धन तथा विकास गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले मङ्सिर ११ र १२ गते सम्पन्न दसौँ प्राज्ञसभामार्फत चालु आर्थिक वर्षको कार्ययोजना पारित गरेको हो । पारित कार्ययोजना वर्षभरि सञ्चालन गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । ‎सीमित स्रोतसाधनको उपयोग गर्दै अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्यसहित तयार गरिएको कार्ययोजनामा गण्डकी प्रदेशको मौलिक पहिचान, बहुभाषिक तथा बहुसांस्कृतिक सम्पदा र लोपोन्मुख सांस्कृतिक वैभवको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ । साथै, मौलिक भाषा, कला, संस्कृति तथा परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका कार्यक्रमसमेत समेटिएका छन् । ‎ ‎सदस्य सचिव श्रेष्ठका अनुसार कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्रष्टा, कलाकार, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व, सरोकारवाला निकाय तथा समुदायसँग सहकार्य गरिनेछ । गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई प्रदेशमा कामकाजी भाषाका रूपमा विकास गर्ने नीतिगत निर्णयलाई विधिसम्मत रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरी भाषा र लिपिलाई व्यवस्थित बनाउने कार्यक्रमसमेत प्रतिष्ठानले अघि बढाएको छ । ‎ ‎भाषा, साहित्य र लोकसाहित्य संरक्षणका कार्यक्रम ‎‎प्रतिष्ठानले भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि ‘शुद्ध बोलौँ गण्डकी, शुद्ध लेखौँ गण्डकी अभियान’ सञ्चालन गर्ने जनाएको छ । प्रदेशका लोकभाषा तथा काव्यभाषाका शब्दहरूको अनुसन्धान गरी ग्रन्थ निर्माण गर्ने, तमु, मगर, नेपाल, दुरा, भुट/घाम, थारु, तामाङ, छन्त्याल, कुमाल र दरै भाषाका कक्षा सञ्चालन गर्ने तथा लोपोन्मुख भाषा र लिपिको अनुसन्धान गरी शब्दकोश निर्माण गर्ने कार्यक्रम कार्ययोजनामा समेटिएका छन् । ‎ ‎साहित्यतर्फ ‘स्मृतिमा स्रष्टा, धुनमा कविता’ कार्यक्रम, गण्डकी साहित्यको डिजिटल अभिलेख निर्माण, सिर्जना संरक्षण, प्रतिभा प्रस्फुटन कार्यक्रम तथा पुस्तक लेखनका लागि अनुदान प्रदान गरिनेछ । लोकसाहित्यतर्फ प्रदेशका लोकप्रतिभाको पहिचान गर्दै लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोकभाका, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउँखाने कथा सङ्कलन गरिनेछ । ‎ ‎संस्कृति र कलाको प्रवर्द्धन ‎‎संस्कृति संरक्षणका लागि किम्बदन्ती, जनश्रुति र लोकमन्त्र सङ्कलन, होमस्टे संस्कृतिको दस्तावेजीकरण तथा विभिन्न जातजातिका संस्कृतिको सर्वेक्षण गरी पहिचान र अभिलेखीकरण गर्ने कार्यक्रम तय गरिएको छ । ‎ ‎ललितकलातर्फ ‘रङमा लोमान्थाङ’ र ‘कला अङ्कुर अभियान’, प्रादेशिक ललितकला प्रदर्शनी, प्रयोगात्मक जलरङ चित्रकला तथा शिलालेख लेखन कार्यशाला सञ्चालन गरिनेछ । पोखराको कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पनि पहल गरिने प्रतिष्ठानले जनाएको छ । ‎ ‎नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान सञ्चालन गर्नुका साथै नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गरिनेछ । ‎ ‎मौलिक सङ्गीत र लोकभाका पुस्तान्तरणमा प्राथमिकता ‎‎सङ्गीततर्फ गण्डकी प्रज्ञा सङ्गीत स्टुडियो सञ्चालन, लोक तथा आधुनिक सङ्गीत उत्सव, यानिमाया, सुनिमाया, साइँलो दाइ, रेरे साइँलो, घुम्टेको भाका, कट्ठे, सिलोक, कैँदमै लगायतका प्रचलित तथा लोपोन्मुख लोकभाकाको संरक्षण र पुस्तान्तरणका कार्यक्रम सञ्चालन गरिनेछ । ‎ ‎एकहोरी तथा दोहोरी गीत संरक्षण, धिमे, ढोङ्ग्रो, टुङ्ना, खैँजडी, मादल, सारङ्गी, अर्बाजो, मौरी, झ्याँली र नौमती लगायतका मौलिक बाजा बजाउने तालिम सञ्चालन गर्ने योजना पनि रहेको छ । यसैगरी ‘गण्डकीका मौलिक नाच पर्यटकसँग’, ‘गण्डकीका लोकतारा’ तथा नाचसम्बन्धी कार्यशाला आयोजना गरिनेछ । ‎ ‎अनुसन्धान, प्रकाशन र प्रतिभाको खोजी ‎‎प्रदेशका भाषा, कोट, किल्ला, गढी, मठमन्दिर, गुम्बा, थान, लोकसंस्कृति, परम्परागत प्रविधि, सम्पदा, जडीबुटी तथा मौखिक इतिहास लगायतका विषयमा अनुसन्धान गरिनेछ । अनुसन्धानकर्तालाई अनुदान प्रदान गर्ने तथा स्वदेश र विदेशमा रहेका गण्डकीका प्रतिभाको खोजी गरी ‘गण्डकीका प्रतिभा’ र प्रदेशका सङ्घसंस्थासम्बन्धी ग्रन्थ तयार पार्ने कार्यक्रम पनि कार्ययोजनामा समेटिएको छ । ‎ ‎प्रकाशनतर्फ ‘गण्डकीका प्रतिभा’ ग्रन्थ, अनुसन्धानमूलक जर्नल ‘गण्डकी प्रज्ञा’, सिर्जनात्मक पत्रिका, गतिविधि बुलेटिन, टेबुल क्यालेन्डर तथा मूल्याङ्कन गरिएका ग्रन्थ प्रकाशन गरिनेछ । प्रदेश तथा राष्ट्रिय सङ्घसंस्था, विश्वविद्यालय, प्राज्ञिक संस्था र प्रवासी नेपालीसँग सहकार्य तथा सम्झौता (एमओयू) गर्ने योजना पनि रहेको छ । ‎ ‎सांस्कृतिक पूर्वाधार र डिजिटल अभिलेखीकरण ‎‎प्रतिष्ठानले आफ्नो भौतिक पूर्वाधार विकासका लागि जग्गा खोजी, सांस्कृतिक ग्राम, कला प्रदर्शनी गृह, स्रष्टा चौतारी, गन्धर्व डबली तथा ‘एक जिल्ला, एक सांस्कृतिक घर’ निर्माणका लागि पहल गर्ने जनाएको छ । ‎ ‎लोपोन्मुख संस्कृतिका विषयमा डकुमेन्ट्री तथा स्रष्टाको जीवनी निर्माण, प्रतिष्ठानका गतिविधिलाई डिजिटल प्रविधिमा लैजाने, पुस्तक विमोचन, ‘गण्डकी वर्ष पुस्तक’ पुरस्कार, शृङ्खलाबद्ध गोष्ठी, महोत्सव, प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्ने कार्यक्रमसमेत वार्षिक कार्ययोजनामा समेटिएका छन् । ‎ ‎प्रतिष्ठानले गण्डकी प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई संरक्षण गर्दै यहाँका मौलिक कला, साहित्य, भाषा, संस्कृति र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउने लक्ष्य राखेको जनाएको छ