गृहमन्त्री गुरुङको जग्गा किनबेचमा अनियमितता : ६५ लाखको कारोबार, मालपोतमा ६ लाख ९० हजार शनिबार, मंसिर १२, २०८३ गृहमन्त्री सुधन गुरुङको धनकुटास्थित जग्गा किनबेचमा ठूलो अनियमितता देखिएको छ । उनले ६५ लाख रुपैयाँ खर्च गरेर खरिद गरेको विवरण छानबिन समितिसमक्ष पेस गरेका छन् । तर, त्यही जग्गा मालपोत कार्यालयबाट पास गर्दा ६ लाख ९० हजार रुपैयाँ मात्रै थैली कायम गरिएको छ । वास्तविक कारोबार रकम र सरकारी अभिलेखमा देखाइएको मूल्यबीच ५८ लाख १० हजार रुपैयाँको अन्तर छ । सम्पत्ति छानबिन समितिले पनि यो विषयमा गुरुङसँग सिधै प्रश्न गरेको थियो । ६५ लाख रुपैयाँ भुक्तानी भएको हो भने मालपोतमा ६ लाख ९० हजार रुपैयाँ मात्रै किन कायम गरियो ? रजिस्ट्रेसन दस्तुर किन कम तिरियो ? समितिको प्रश्न थियो । तर, गुरुङले आफ्नो संलग्नता नरहेको भन्दै मालपोतको प्रक्रिया र बायोमेट्रिकको प्रसंग उठाएर जवाफ दिएका छन् । गुरुङले धनकुटाको तत्कालीन कार्कीछाप गाविस वडा नम्बर ५ (हाल साँगुरीगढी गाउँपालिका– ६), कित्ता नम्बर १६७ को १९ रोपनी १५ आना जग्गा खरिद गरेका हुन् । प्रतिवेदनअनुसार उक्त जग्गा ११ चैत २०८२ मा जुनु लिम्बूबाट गुरुङको नाममा रजिस्ट्रेसन भएको थियो । उनी १३ चैतमा गृहमन्त्री नियुक्त भएका थिए । आफ्नै विवरणमा ६५ लाख खर्च, मालपोतमा ६ लाख ९० हजार मात्रै छानबिन समितिको प्रतिवेदनमा गुरुङले पेस गरेको आय–व्यय विवरण समावेश छ । उक्त विवरणको खर्चतर्फ ‘भेँडेटारमा जग्गा खरिद’ शीर्षकमा ६५ लाख रुपैयाँ उल्लेख गरिएको छ । तर, मालपोत अभिलेखमा सोही जग्गाको थैली अंक ६ लाख ९० हजार रुपैयाँ मात्रै कायम गरिएको छ । यसरी गुरुङले समितिसमक्ष पेस गरेको खर्च विवरण र सरकारी अभिलेखमा देखिएको जग्गाको मूल्यबीच ५८ लाख १० हजार रुपैयाँको अन्तर देखिन्छ । यो पनि : गृहमन्त्रीलाई चोख्याउने गोप्य प्रतिवेदन : हामी नेपालको ६० लाखमा मौन, उल्टै भन्छ– गैरकानुनी आर्जन देखिएन यो सामान्य अंकको फरक होइन । जग्गाको वास्तविक कारोबार मूल्यभन्दा निकै कम मूल्य सरकारी अभिलेखमा राखिएको हो भने त्यसले राज्यले प्राप्त गर्नुपर्ने रजिस्ट्रेसन दस्तुर तथा सम्बन्धित करमा असर पार्न सक्छ । बिक्रीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकरको हिसाबमा समेत फरक पर्न सक्छ । समितिले सोध्यो– ६५ लाख तिरेको जग्गा ६ लाख ९० हजारमा किन पास ? समितिले गुरुङसँग लिएको बयानको सवाल नम्बर १४ मा यस विषयमा प्रश्न गरेको छ । समितिको प्रश्न थियो– तपाईंले धनकुटाको तत्कालीन कार्कीछाप गाविस वडा नम्बर ५ को कित्ता नम्बर १६७ को १९ रोपनी १५ आना जग्गा २०८२ चैत ११ गते ६ लाख ९० हजार रुपैयाँमा रजिस्ट्रेसन गरेको देखिन्छ । के ६५ लाख रुपैयाँमा उक्त जग्गा खरिद भएको हो ? जग्गा खरिदको रकमको स्रोत र भुक्तानी माध्यम खुलाइदिनुहोस् । जवाफमा गुरुङले २०८० सालमा धरानमा ‘सेभ घोपा’ नामक अभियान सञ्चालन गरेको र त्यसक्रममा भेँडेटार क्षेत्रमा पर्यटन सम्भावना देखेको बताएका छन् । भविष्यमा पर्यटन व्यवसाय गर्ने उद्देश्यले जग्गा खरिद गरेको उनको भनाइ छ । उनले ६५ लाख रुपैयाँ खर्च गरेर जग्गा खरिद गरेको र त्यससम्बन्धी कागजातसमेत पेस गरेको जवाफ दिएका छन् । त्यसपछि समितिले सवाल नम्बर १५ मा अझै स्पष्ट प्रश्न गरेको छ । ‘जिल्ला धनकुटा कार्कीछाप गा.वि.स. वडा नं. ५ (हाल साँघुरीगढी गाउँपालिका -६) को कित्ता नं. १६७ को १९ रोपनी १५ आना जग्गा मिति २०८२ चैत्र ११ मा ६ लाख ५० हजारमा मा खरिद भनी उल्लेख गरेकोले उक्त जग्गाबापत जुनु लिम्बुलाई ६५ लाख भुक्तानी गर्नुभएको रहेछ । के कति कारणले ६ लाख ९० हजार मात्रमा राजिस्ट्रेसन पास गर्नुभएको हो ?’ त्यसको जवाफमा गुरुङले भनेका छन्, ‘मैले माथि नै भनिसकेँ जग्गा बिक्रेता दिलबहादुर थापाकी श्रीमती जुनु लिम्बूलाई निजका श्रीमानको रोहबारमा वडा कार्यालयमा बैनापट्टा गरी बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेको हो । यसमा मेरो कुनै संलग्नता छैन । मैले अहिलेसम्म त्यो जग्गाको बायोमेट्रिक गरी लालपूर्जासमेत लिएको छैन । मैले ६५ लाख नै भुक्तानी गरेको हुँदा लालपूर्जा लिन भूमि प्रशासन कार्यालयमा उपस्थित हुँदा ६५ लाख बराबरको रजिस्ट्रेसन कागजात मैले पाउनुपर्छ भन्ने मेरो विचार छ ।’ बायोमेट्रिकको कुरा गरेर मूल्यको अन्तरबाट उम्किने प्रयास ? समितिले सवाल नम्बर १६ मा जग्गा बैना तथा रजिस्ट्रेसन प्रक्रियामा बायोमेट्रिक नगरी कागजात तयार गरेर कारोबार पास गरिएको विषयमा पनि प्रश्न गरेको छ । जवाफमा गुरुङले बैना गर्दा एक वर्षको समय दिइएको, जग्गाधनी दिलबहादुर थापाले आफ्नी श्रीमती जुनु लिम्बूलाई अख्तियारनामा दिएर विदेश गएकोलगायतका विवरण प्रस्तुत गरेका छन् । समितिको सवाल र गुरुङको जवाफ : सवाल १६ : बैना गरेको तीन वर्षसम्म बैना कागज गरी उक्त जग्गा रजिस्ट्रेसन नगरी किन ढिला गरी मन्त्री हुनुभन्दा तीन दिनअघि पास गरेको हो ? खुलाउनुहोस् । जवाफ १६ : बैना गर्दाका बखत १ वर्षको भाखा दिएको थियो । उनीहरूको घरायायी कारणबस जग्गाधनी दिलबहादुर मगरले निजकी श्रीमती जुनु लिम्बूलाई अधिकार वारेसनामा दिई विदेश गएकोले ढिला भएको छ । दिलबहादुरको स्वयम् उपस्थितिमा मात्र पास गर्ने अन्यथा भविष्यमा आन्तरिक किचलो भई जग्गामा मुद्दामामिला हुन सक्ने ठानी निज नेपाल फर्केपछि पास गर्ने भनेको थिए । तर, निज दिलबहादुर नेपाल नफर्केकाले र त्यही समयमा निर्वाचनको परिणाम आई जितसमेत भइसकेको अवस्था हुँदा निजको अनुपस्थितिमा पनि बाँकी रहेको आफ्नो व्यवहार मिलाई Clean (क्लिन) रूपमा जनताको सेवामा लाग्ने विचार आएको र पछि अहिले आएर व्यवहार मिलाएको हो । भ्रष्टाचारबाट पैसा कमाएको भनी प्रश्न उठ्ने भएका कारणले त्यस्तो अवस्था नआओस् भन्ने सोची जग्गा रजिस्ट्रेसन पास गरेको हुँ । अन्यथा गरेको छैन । यो जग्गा मैले धेरै वर्षअगाडि नै बैना गरेको हुँदा सो अवस्था आउँछ भन्ने कल्पना त्यसमा त्यसलाई थियो र ? यहाँसम्म कि म आफैँ पनि मन्त्री हुन्छु भन्ने कल्पना कसले गरेको थियो र ? तर, यहाँ मुख्य प्रश्न बायोमेट्रिक भएको वा नभएको मात्र होइन । ६५ लाख रुपैयाँ भुक्तानी भएको भनिएको जग्गाको सरकारी लिखतमा ६ लाख ९० हजार रुपैयाँ मात्रै किन कायम गरियो भन्ने प्रश्नको खोजी भएको छैन । बायोमेट्रिक प्रक्रिया र जग्गाको मूल्यांकन तथा राजस्व भुक्तानी दुई अलग विषय हुन् । बायोमेट्रिक प्रक्रियामा कुनै समस्या थियो भने त्यसको छानबिन हुनुपर्छ । तर, त्यसले वास्तविक कारोबार मूल्य र मालपोतमा कायम गरिएको थैलीबीचको अन्तरको जवाफ पनि समितिको प्रतिवेदनले दिँदैन । यो पनि : दीपक भट्ट–गृहमन्त्री कनेक्सनबारे प्रतिवेदन : प्रत्यक्ष आर्थिक सम्बन्धको प्रमाण छैन, लघु बीमामा प्रश्न गुरुङले आफैँ समितिसमक्ष ६५ लाख रुपैयाँ खर्च गरेर जग्गा खरिद गरेको बताएका छन् । त्यसो हो भने सरकारी लिखतमा ६ लाख ९० हजार रुपैयाँ मात्रै किन उल्लेख भयो ? ६५ लाखको कारोबार हुँदा रजिस्ट्रेसन दस्तुर र सम्बन्धित करको हिसाब कुन मूल्यका आधारमा गरियो ? कम मूल्य कायम गर्न कसले निर्णय गर्‍यो ? खरिदकर्ता र बिक्रीकर्ताको भूमिका के थियो ? यी प्रश्नको स्पष्ट जवाफ पनि आएको छैन। प्रणालीलाई दोष ! अझ गम्भीर पक्ष के छ भने सम्पत्ति छानबिन समितिले यो कारोबारमा देखिएको मूल्यको अन्तरलाई आफ्नो प्रतिवेदनमा समेटेको छ । समितिले गुरुङसँग यसबारे प्रश्न पनि गरेको छ । अर्थात्, ६५ लाख रुपैयाँ भुक्तानी भएको भनिएको जग्गा मालपोतमा ६ लाख ९० हजार रुपैयाँमा पास भएको विषय समितिको जानकारीबाहिर थिएन । तर, यति ठूलो अन्तर देखिँदा पनि समितिले यसको व्यक्तिगत जिम्मेवारी कसको हो, वास्तविक कारोबार मूल्यभन्दा कम थैली कायम गरेर राज्यलाई तिर्नुपर्ने राजस्व घटाइएको हो कि होइन, र त्यसमा खरिदकर्ता तथा बिक्रीकर्ताको भूमिका के थियो भन्ने विषयमा स्पष्ट निष्कर्ष दिएको देखिँदैन । बरु, समितिले घरजग्गा कारोबारमा रहेको प्रणालीगत कमजोरी औँल्याउँदै प्रक्रिया सुधार गर्नुपर्ने सुझाव दिएको छ । यहीँनेर समितिको छानबिनमाथि गम्भीर प्रश्न उठ्छ । एउटा व्यक्तिले ६५ लाख रुपैयाँमा जग्गा खरिद गरेको विवरण आफैँ पेस गरेको छ । समितिले सोही व्यक्तिसँग ६५ लाख भुक्तानी र ६ लाख ९० हजारको थैलीबीचको अन्तरबारे प्रश्न गरेको छ । तर, अन्तिम प्रतिवेदनमा व्यक्तिगत जवाफदेहिता र सम्भावित राजस्व अनियमितताको परीक्षणलाई निष्कर्षमा पुर्‍याउनुको सट्टा प्रणालीगत कमजोरी औँल्याएर सुधारका सुझाव दिइएको छ । प्रणालीमा कमजोरी थियो भने त्यसको लाभ कसले लियो ? सरकारी अभिलेखमा कम मूल्य कायम गर्दा कसको जिम्मेवारी थियो ? वास्तविक कारोबार मूल्य र थैली अंक फरक पार्ने प्रक्रियामा खरिदकर्ता तथा बिक्रीकर्ताको भूमिका के थियो ? यी प्रश्नको जवाफ भने खोजिएको छैन । प्रणालीगत कमजोरी औँल्याउनु आफैँमा गलत होइन । तर, प्रणालीमा कमजोरी छ भन्दैमा त्यसको प्रयोग गरेर भएको वा हुन सक्ने अनियमिततामा संलग्न व्यक्तिको जिम्मेवारी परीक्षण नगरी छोड्न मिल्दैन । समितिको यही शैलीले प्रतिवेदनको निष्पक्षतामाथि प्रश्न उठाउँछ । गुरुङमाथि उठेका आर्थिक प्रश्नको व्यक्तिगत र कारोबारगत परीक्षण गर्नुपर्ने ठाउँमा प्रणालीलाई दोष दिएर सुधारको सुझाव दिनु कतै उनलाई विवादबाट चोख्याउने सहज बाटो त बनेन ? भन्ने प्रश्न पनि उठेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएन भन्ने निष्कर्ष दिँदैमा जग्गा किनबेचमा देखिएको मूल्यको अन्तर र सम्भावित राजस्व छलीको प्रश्न समाप्त हुँदैन । सम्पत्तिको स्रोत पहिचान गर्नु र राज्यलाई तिर्नुपर्ने राजस्व छलिएको छ कि छैन भन्ने परीक्षण गर्नु फरक विषय हुन् । ६५ लाखको कारोबार, ६ लाख ९० हजारको थैली । समितिले प्रश्न सोध्यो, जवाफ पनि लियो । तर, जिम्मेवारी निर्धारण गर्नुपर्ने ठाउँमा प्रणाली सुधारको सुझाव दिएर पन्छिएको छ । जसका कारण प्रतिवेदनमाथि नै गम्भीर प्रश्न उठेको छ ।