**१५ असाेज, २०८३** काठमाडौं । दसैंका लागि नयाँ नोट सटही गर्न चाहने सर्वसाधारणले अब राष्ट्र बैंकले छुट्टै मिति तोक्ने प्रतीक्षा गर्नुपर्ने भएको छैन । नेपाल राष्ट्र बैंकले यस वर्ष विगतमा जस्तो सार्वजनिक सूचना जारी गरी निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था हटाउँदै केन्द्रीय तथा क्षेत्रीय कार्यालयसँगै बैंक तथा वित्तीय संस्थाका शाखाबाट नियमित रूपमा नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन सर्वसाधारणले आफूलाई पायक पर्ने राष्ट्र बैंकको कार्यालय वा बैंक तथा वित्तीय संस्थाको शाखाबाट नयाँ नोट साट्न सक्नेछन् । सामान्यतया एक–दुई सेटसम्म नयाँ नोट सटहीको सुविधा दिइएको छ । काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा देशभरका क्षेत्रीय कार्यालयबाट नयाँ नोट सटही भइरहेको छ । बैंक तथा वित्तीय संस्थालाई समेत आफ्ना ग्राहकका लागि वितरण गर्न आवश्यक नयाँ नोट उपलब्ध गराइएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालका अनुसार नयाँ नोट सटहीका लागि यस वर्ष छुट्टै अभियान सञ्चालन गरिएको छैन । उनका अनुसार केही दिनयता सर्वसाधारणले नियमित रूपमा नयाँ नोट साटिरहेका छन् र विगतका वर्षमा जस्तो ठूलो भीडसमेत देखिएको छैन । विगतमा दसैं नजिकिँदै गर्दा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका एक–एक बन्डल गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा दिइँदै आएको थियो । यस वर्ष भने नयाँ नोटको पर्याप्त मौज्दात रहेकाले आवश्यकता र उपलब्धताका आधारमा एक–दुई सेटसम्म सटही सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ । धेरै रकमका नयाँ नोट आवश्यक पर्ने अवस्थामा भने सुकिला नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ । अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट मात्र सटही गरेको थियो । यस वर्ष भने नयाँ नोट नै वितरण भइरहेको छ । राष्ट्र बैंकले वर्षभरि नै आवश्यकताअनुसार नयाँ तथा सुकिला नोट सटही गर्दै आए पनि दसैं, तिहार र छठजस्ता पर्वमा नगदको माग बढ्ने भएकाले विगतमा विशेष अभियान सञ्चालन गर्ने गरिएको थियो । **डिजिटल कारोबार बढेपछि नयाँ नोटको माग घट्दो** पछिल्ला वर्षमा डिजिटल बैंकिङ र विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएसँगै नगद कारोबारको निर्भरता घटिरहेको छ । त्यसको प्रभाव दसैंमा नयाँ नोटको मागमा समेत देखिन थालेको राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ । विगतका वर्षमा दसैं र तिहारका बेला औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेका थिए । त्यसमध्ये करिब १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हातमा जाने र बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि प्रयोग गर्ने गरेको राष्ट्र बैंकको तथ्यांक छ । कोभिड–१९ महामारीका क्रममा एक वर्ष नयाँ नोट वितरण रोकिएको थियो । सर्वसाधारणले मुख्यतः साना दरका नोट बढी सटही गर्ने गर्छन् भने बैंक तथा वित्तीय संस्थाले ५ सय र १ हजार रुपैयाँ दरका नोट बढी प्रयोग गर्ने गरेका छन् । **नयाँ नोट वितरणमा खर्च र मुद्रा आपूर्तिको चुनौती** दसैं–तिहारमा ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउँदा मुद्रा आपूर्ति बढ्ने र त्यसले उपभोग तथा मागमा प्रभाव पार्न सक्ने अर्थविद्हरू बताउँछन् । बजारमा नगद प्रवाह बढ्दा वस्तु तथा सेवाको माग बढ्न सक्ने र त्यसको असर मूल्यवृद्धिमा पर्न सक्ने उनीहरूको तर्क छ । त्यसैगरी नोट छपाइ, वितरण र व्यवस्थापनमा राष्ट्र बैंकले ठूलो रकम खर्च गर्नुपर्छ । राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । नयाँ नोटको माग बढेसँगै यस्तो खर्चसमेत बढ्ने भएकाले यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । दसैं–तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदीका स्मारिका सिक्का तथा सुनका असर्फीको समेत माग बढ्ने गरेको छ । गत वर्ष गुणस्तरीय सुनको अभाव देखाउँदै राष्ट्र बैंकले असर्फी वितरण नगरेको थियो । यस वर्ष भने सर्वसाधारणले विगतमा जस्तो लामो लाइन र भीडको सामना गर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले छुट्टै मिति र विशेष अभियानको सट्टा नियमित रूपमा नयाँ नोट सटहीको व्यवस्था गरेको जनाएको छ ।