दसौं राष्ट्रिय खेलकुद तयारीबारे मूल आयोजक समितिको बैठक कर्णालीमा बस्दै
👤 सनस्टार संवाददाता |

दसौं राष्ट्रिय खेलकुद तयारीबारे मूल आयोजक समितिको बैठक कर्णालीमा बस्दै
सुर्खेत
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन र आवश्यक समन्वयबारे छलफल गर्न मूल आयोजक समितिको बैठक आइतबार कर्णालीमा बस्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।
१६ देखि २९ मंसिरसम्म दसौं राष्ट्रिय खेलकुद हुने तालिका छ । । संघीयतर्फ विभिन्न समिति गठन भएर आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको र प्रादेशिक खेलकुद परिषद्लाई आवश्यक जानकारी गराइसकेको मेहताले बताए ।
‘दसौं राष्ट्रिय खेलकुदको तयारी अगाडि बढिरहेको छ। प्रदेश सरकार र संघीय सरकारबीच समन्वय भइरहेको छ,’ उनले भने, ‘मूल आयोजक समितिको बैठकमा विभिन्न विषयमा छलफल हुनेछन् ।’ आवास व्यवस्थापनका लागि प्रदेशसँग समन्वय भइरहेको र त्यसका लागि कमिटीमार्फत काम भइरहेको मेहताले बताए ।
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रवीन चन्दले खेलस्थल र आवास व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा औंल्याए । उनका अनुसार प्रतियोगितामा ३२ खेल समावेश छन् । सुर्खेतमा करिब १७ देखि १८ खेल सञ्चालन गर्न सकिने भएकाले केही खेल अन्य जिल्लामा सञ्चालन गर्ने तयारी छ । १६ देखि २९ मंसिरसम्म दसौं राष्ट्रिय खेलकुद हुने तालिका छ ।
सुर्खेत उपत्यकामा ५ देखि ६ हजार जनासम्मको आवास क्षमता रहे पनि उद्घाटनका दिन करिब १० हजार जनाको व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने चन्दले बताए । त्यसैले प्रतियोगिताको तालिकाअनुसार रोटेसनमा सहभागी व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
बैठकमा प्रतियोगिताको तयारी, खेलस्थल, आवास व्यवस्थापन तथा संघीय र प्रदेश तहबीच आवश्यक समन्वयका विषयमा निर्णय गरिने चन्दले बताए ।